४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सद्भाव विथाोलिने भन्दै धरानमा निषेधाज्ञा, प्रवेश नाकामा कडाइ



हिन्दुवादीहरुले शनिबार शक्ति प्रदर्शन गर्ने भन्दै समर्थकहरुलाई देशभरीबाट धरान आउन आह्वान गरेपछि स्थानीय प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले शुक्रबारबाटै लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्म निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालका अनुसार धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

उनले धरान प्रवेश तरहरा, नहडा, झण्डा चोक, पानबारी र भेडेटारमा सुरक्षा सतर्कता बढाइएको बताए । ती स्थानबाट प्रदर्शनमा आउने धरान प्रवेश गर्न दिएको छैन ।

‘हामीले सबैपक्षसँग छलफल गरेका छौं, धरानको आग्रह बाहिरबाट प्रदर्शनमा नआउनुहोस् भन्नेछ,’ प्रहरी उपरीक्षक ढकालले भने, ‘उच्च सुरक्षा सतर्कता अपनाएका छौं ।’

धरानमा गोरु काटेर खाएको र मन्दिर अगाडि चर्च बनाएको भन्दै केही हिन्दु समर्थकले शनिबार प्रदर्शनको आह्वान गरेका थिए । जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको सूचनामा भने डेंगु संक्रमण बढिरहेको र जनस्वास्थ्य आपतकालीन् अवस्था क्षेत्र घोषणा गर्ने गरी सम्बन्धित निकायमा सिफारिस गरिएको स्थितिमा सभा सम्मेलन गर्न निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : ०४ बजे