११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

डोनाल्ड ट्रम्पले गरे जेलमा गरे आत्मसमर्पण, २० मिनेटमा रिहा



अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार जर्जियाको फुल्टन काउन्टी जेल पुगेर आत्मसमर्पण गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार सन् २०२० को राष्ट्रपति निर्वाचन हार्ने निश्चित भएपछि आपराधिक क्रियाकलाप गरी परिणाम उल्ट्याउन कोशिश गरेको अभियोग लागेपछि उनले आत्मसमर्पण गरेका हुन् ।

जेल चलान भएको २० मिनेटमा उनी जमानत तिरेर रिहा भएका छन् । सिएनएनका अनुसार औंठा छाप लिने लगायतका प्रक्रिया पूरा गरी उनी २ लाख अमेरिकी डलर जमानत तिरेर रिहा भइसकेका छन् ।

ट्रम्पको मग सट (जेलमा राखिने आधिकारिक तस्बिर) पनि सार्वजनिक भएको छ । सिएनएनका अनुसार अमेरिकी इतिहासमा पूर्वराष्ट्रपतिको मग सट सार्वजनिक भएको यो पहिलो घटना हो । ट्रम्पले आत्मसमर्पण गरेको भने यो चौथो पटक हो।

ट्रम्पविरूद्ध यसअघि पूर्वपोर्न स्टारसँगको सम्बन्धलाई लुकाउन उनलाई पैसा दिएको, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य दस्तावेज आफूसँग राखेकोलगायत विषयमा पनि अनुसन्धान भइरहेको छ । निर्वाचन परिणाम उल्ट्याउन प्रयास गरेको विषयमा एक महिनाअघि डिस्ट्रिक्ट कोर्ट इन वासिङ्टनमा ट्रम्पविरूद्ध मुख्य ४ अभियोग लगाएर अभियोग पत्र दर्ता भएको थियो ।

४५ पृष्ठ लामो अभियोग पत्रमा ट्रम्पले अमेरिकालाई जालसाजी गर्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोक्न षडयन्त्र गरेको, राजकीय प्रक्रिया रोकेको र रोक्न खोजेको र अमेरिकी नागरिकको अधिकारविरूद्ध षडयन्त्र गरेको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार  ५ : १३ बजे