सत्तारुढ दल कांग्रेस महामन्त्री गगन थापाले भ्रष्टाचारकोबिरुद्ध सहकार्यको आवश्यकता औल्याएका छन् । उनले ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न ‘ठूलाहरू’ मिल्ने गरेको र ‘सत्ता बार्गेनिङको टुल’ बनाइने गरेको उल्लेख गर्दै भ्रष्टाचारकोबिरुद्धहरुबीच पनि सहकार्यको आवश्यकता रहेको बताएका हुन् ।
आइतबार ललिता निवास जग्गा काण्डमा सरकारी वकिलको कार्यालयले संगठित अपराधलाई छाडेर किर्तेमा मात्र मुद्दा दर्ता गरेको छ भने पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिएको छ ।
सोमबार थापाले सामाजिक सञ्जालमा शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको बताएका हुन् । उनले एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहेको भन्दै संरचनागत संयन्त्रहरूमा देखिएको ‘लुपहोल’ भ्रष्टाचार मौलाएको बताएका छन् ।
ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न ‘ठूलाहरू’ मिल्ने गरेको र ‘सत्ता बार्गेनिङको टुल’ बनाइने गरेको पनि उनको भनाइ छ । महामन्त्री थापाले भनेका छन्, ‘यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठूलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ।’
भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र मात्र नभई अन्य दल र नागरिक आन्दोलनसँग पनि एकाकार हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । ‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ। यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ,’ महामन्त्री थापाले भनेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म पनि बलियो बनाउनुपर्ने महामन्त्री थापाको भनाइ छ । उनले भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔँ । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ ।’
भ्रष्टाचारीका सन्दर्भमा नेता र नाता केही हेरिन नहुने महामन्त्री थापाले बताएका छन् । उनले भनेका छन्, ‘यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, ‘निर्दोष कोही नपरुन, दोषी कोही नछुटून्।’ भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस् । यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौँ ।’