११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

राजु लामा लाइभ इन कन्सर्ट भव्यतापूर्वक सम्पन्न



राजु लामा लाइभ इन कन्सर्ट भव्यतापूर्वक सम्पन्न भएको छ । गएको शनिबार न्यूयोर्कको मेलरोज बलरुममा आयोजना गरिएको कन्सर्टमा झण्डै ७ सय बढी नेपाली संगीतप्रेर्मी सहभागी थिए ।

मंगोलियन हार्टका प्रमुख गायक लामाले राजु लामा लाइभ इन कन्सर्टमा सैयौं दर्शकलाई आफ्नै विभिन्न लोकप्रिय गीतमा नचाए । गायक लामाले आफ्नो प्रस्तुतिसँगै दर्शकलाई बीच बीचमा ज्यो ज्योलाई कति माया गर्नु हुन्छ नि ? भनेर मुस्कुराउँदै प्रश्न गर्दा संयमित दर्शकको भीड नै राजु लामाप्रतिको मायाको प्रमाणको रुपमा देखिन्थ्यो ।

कन्सर्टमा युवा, प्रौढ मात्र नभएर पाका उमेर समूहका बुबाआमाको उपस्थितिले पनि राजु लामा धेरै नेपालीमा प्रिय गायक रहेको पुष्टि गर्थ्यो । सधै चक्लेटी देखिने गायक लामा यसपटक थोरै म्याच्युएर देखिएका थिए । गायक लामाले झण्डै २ घण्टा निरन्तर आफ्नो विभिन्न १६ वटा लोकप्रिय गीतमार्फत दर्शकको भीडलाई आफुतिर केन्द्रित गराएका थिए ।

गायक लामाको स्वर जति सुमधुर सुनिन्छ उनले गीतको प्रस्तुति पहिले “हुन्छ हजुर अब म यो गीत सुनाउँछु है त हजुर” भनेर नरम लवजमा विनम्रतापूर्वक गरेको अनुरोधले कन्सर्टलाई जीवन्त बनाएको थियो नै, यसले उनको व्यक्तित्वलाई पनि अझै उचाइमा पुर्याएको थियो ।

गायक लामाको लगभग सबै गीतलाई दर्शकले वान्स मोर वान्स मोर भनेर डिमाण्ड गरे पनि गायक लामाले अन्त्यमा सायद तिम्रो बाटोमा बोलको गीत भने पुन प्रस्तुत गरेका थिए । कार्यक्रमको शुरुदेखि खचाखच हलमा उपस्थित दर्शक गायक लामा जत्तिक्कै संयमित र भद्र देखिए ।

प्राय कन्सर्टमा उच्छृंखल देखिने दर्शक यस पटक भने राजु लामाको अन्तिम प्रस्तुति सम्म अनुशासित देखिए । गायक लामाले जलवायु परिवर्तनको प्रभाव घटाउन र जलवायु परिवर्तनको जनचेतना फैल्याउन ६५७४ मिटरको उचाइमा हिमालले डाक्यो मलाई बोलको गीत समेत गाएका थिए ।

उनले राजु लामा फाउन्डेसनमार्फत विरुवा रोप्ने काम पनि गरिरहेका छन् । फाउन्डेसन मार्फत गरिरहेको कामलाई सहयोग गर्न दर्शकलाई आग्रह गरिएको थियो । चित्र गुरुङ, प्रेम गुरुङ र चाँदनी लामाको संयोजनमा राजु लामा लाइभ इन कन्सर्ट आयोजना गरी लोकप्रिय गायक राजु लामालाई दर्शकमाझ न्यूयोर्कमा प्रस्तुत गरेको हो । कन्सर्टबाट उठेको रकमको १५ प्रतिशत रकम राजु लामा फाउन्डेसनलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

कन्सर्टको शुरुवातमा भुटानी गायक मिष्टी टेराजले भुटानी भाषाको गीत प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राईले सिरानमा फोटो छ, सपना सपनालगायत बोलको गीत गाएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १ : ०६ बजे