२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

८ वर्षपछि सर्वासाधारणको लागि खुल्यो तातोपानी नाका



आठ वर्ष पाँच महिनादेखि बन्द रहेको तातोपानी नाका सर्वसाधारणको लागि शुक्रबारदेखि खुला गरिएको छ । भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै शुक्रबार बिहान नाकाको उद्घाटन गरिएको हो ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ निलो रंगको पास जारी गरेको छ । जुन पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासी मितेरी पुल पारीका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए । ‘सुरुमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन् ,’ उनले भने ।

लामो समयपछि चिनियाँ क्षेत्र प्रवेश गर्न पाएपछि स्थानीय हर्षित देखिएका छन् । खासा व्यापारमा निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते र खासामा ५ वटा पसल सञ्चालन गरिएको छ । स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउँछन् ।

यसअघि १५ जेठ २०७६ मा आयात र गएको वैशाख १८ देखि यो नाकाबाट निर्यात खुला भएको थियो । नेपाल-चीनका अधिकारीबीच नाका सञ्चालनका लागि ल्हासा, काठमाडौं र सीमाना लिपिङमा चरणबद्ध बैठक भएका थिए । भूकम्प र बाढीपहिरोले सीमा पुग्ने कोदारी राजमार्ग जीर्ण छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ४१ बजे