शनिबार राती काठमाडौं महानगरका मेयर बालेन शाहले “सिंहदरबार जलाइ लिने” फेसबुक स्टाटस राखेपछि आइतबार दिनभर जसो त्यसैको सेरोफेरोमा सामाजिक सञ्जाल तातिएको छ ।
उनले शनिबार राति ९ बजेर २१ मिनेटमा “आजको लागि केही भएन,
भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।” लेखेका थिए ।
उनको यो फेसबुक स्टाटसलाई उनका समर्थकहरुले सरकारप्रतिको आक्रोशको रुपमा बुझे र केही घण्टामै लाखौंले लाइक कमेन्ट र शेयर गरे । तर उनले नखुलाएका कारण उनले के सन्दर्भमा यस्तो अभिब्यक्ति दिए भन्ने कुरामा भने धेरैलाई अन्योल थियो ।
तर केही पछि सञ्चार माध्यमहरुले घट्ना विवरणसहितको समाचारहरु बाहिर ल्याए । घट्ना विवरण अनुसार काठमाडौं महानगरपालिकाको गाडी शनिबार राति कोटेश्वर चोकमा प्रहरी चेकजाँचमा परेको थियो । काठमाडौंमा विदाको दिन सरकारी गाडी प्रशासनको अनुमति लिएर चलाउनु पर्ने हुन्छ ।
तर गाडीसँग पास थिएन । प्रहरीले केही बेर रोकेर, पास लिएर चलाउन भन्दै छाड्यो । उक्त गाडीमा पछाडी मेयर बालेन शाहकी पत्नी सविना काफ्ले थिइन् ।
“नियमित चेकजाँचमा बसेको प्रहरीले बिदाको दिन चलाउने अनुमति लिए/नलिएको सोध्यो । अनुमति पत्र नभएको र गाडी मेयर शाहको भएपछि तत्कालै गाडी छोडिदिएको हो” प्रहरीले भनेको छ ।
शाहले आफ्नी श्रीमती चढेको गाडी प्रहरीले नियमित चेकजाँचमा रोकेर सोधेको घटनालाई लिएर सिंहदरबार जलाउने धम्की दिएको समाचारहरू प्रकाशित भएपछि सर्वत्र चासो र टिप्पणी सुरू भयो ।
उनको अलोचना पनि हुन थाल्यो ।
अलोचना हुन थालेपछि आइतबार बिहान ८ बजेर ८ मिनेटमा बालेन शाहनिकट फेसबुक पेज “रूटिन अफ नेपाल बन्द”ले मेयर बालेनलाई पुत्री लाभ भएको भन्दै शुभकामना दियो । बच्चा कहिले जन्मिएको भन्ने कुरामा मौन रह्यो ।
यो जानकारीसँगै फेरी सञ्जालमा मानिसहरु बाँडिए । बालेनका समर्थकहरु मानिसको संवेदनशीलता नहेरेको भन्दै प्रहरी माथि खनिए । कतिपयले बेथा लागेको प्रहरीले रोके पछि आक्रोशित हुनु स्वभाविक रहेको पनि भने ।
तर दिउँसो हुँदा नहुँदै सञ्चार माध्यमहरुले अर्को समाचार बाहिर ल्याए । काफ्लेले छोरीको जन्म भदौ ८ गते नै दिएकी थिइन भनेर । दुई दिन अघि नै काफ्लेलाई अस्पतालले डिस्चार्ज गरेको र छोरी भने अस्पतालमा उपचाररत हरेको भन्ने अबर पुष्टि भएको छ ।
यद्यपी बालेनले दिएको अभिव्यक्तीको पक्ष र विपक्षमा अझै सामाजिक सञ्जाल तातिरहेकै छ ।