कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारको राजनीतिक दलहरूले संसद्मा कडा विरोध गरेका छन् । उक्त आक्रमणलाई राजनीतिक व्यवस्थामाथि प्रहार भन्दै नुवाकोटका श्यामबहादुर सापकोटालाई प्रयोग गरेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका पक्षधर राजनीतिक दलहरूमाथि प्रहार गरिएको राजनीतिक दलका नेताहरूले दावी गरेका छन् । साथै उनीहरुले उक्त घटनाको पछाडि को रहेको छ भन्नेबारे छानबिन गर्न सरकारसँग माग पनि गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ कांग्रेस, माओवादीसँगै प्रमुख प्रतिपक्ष एमालेका सांसदहरूले काठमाडौंमा बुधबार कांग्रेस सहमहामन्त्री यादवमाथि भएको आक्रमणको एकस्वरले विरोध गरेका हुन् । उनीहरूले घटनाको सत्य-तथ्य छानबिन गर्नुपर्ने र उक्त घटनाको पछाडि कसको संलग्नता रहेको छ भन्ने छानबिन गरी संसद्लाई जानकारी गराउनुपर्ने माग गरेका हुन् । संविधानसभा सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री यादवमाथि भएको खुकुरी प्रहारको घटनालाई गम्भीररूपमा लिन सरकारसँग माग गरिएको छ ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पुराना राजनीतिक दलहरूका बारेमा भ्रम फैलाएर उनीहरूमाथि आक्रमण गर्नुपर्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए । ‘देशमा तथाकथित रूपले नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थासँग सहमत छैनन् भन्ने कृत्रिम भाष्य निर्माण गर्न खोजिएको छ,’ उनले भने, ‘खुकुरी प्रहार गरेर कांग्रेस, एमाले, माओवादीलगायतका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर राजनीतिक दलहरू‚ पुराना हुन्‚ खराब छन्‚ यिनीहरूले यो मुलुकलाई निकास दिन सक्दैनन् भन्ने कृत्रिम भाष्य तयार गरेर लोकतन्त्र समाप्त गर्ने यदि कसैको चाहना छने भने त्यो दिवास्वप्न हुनेछ ।’
राजनीतिक दलहरूप्रति भ्रम फैलाएर व्यवस्थामाथि प्रहार गर्न खोजिएको लेखकको भनाइ थियो । अहिलेको व्यवस्थाप्रति जनताको भरोसा रहेको कुरा निर्वाचनले देखाएको बताउँदै उनले त्यसकाविरुद्ध भ्रम फैलाउने कार्य बन्द हुनुपर्ने बताए । ‘आजभन्दा एक वर्ष पहिला स्थानीय तहको निर्वाचन भएको छ । अपवादबाहेक संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर पार्टी र मानिसहरू जितेका छन् । त्यो नेपाली जनताको अभिमत हो । हामीले ९ महिना पहिला संघीय संसद्को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गरेका छौं । ९ महिना पहिला अभिव्यक्त भएको मत यो सम्मानित सदनमा ९५ प्रतिशतभन्दा बढी छ, त्यो भनेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर मत हो,’ उनले भने ।
सत्तापक्षका केन्द्रीय सहमहामन्त्रीमाथि भएको घटनाबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्ने प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले माग गरेका छन् । नेता छानिछानी आक्रमण गर्ने र त्यसलाई प्रोत्साहन हुने गरी सामाजिक संजालमा कमेन्ट आउनु सही नभएको बताए । ‘यो हमलाप्रति एमालेको संसदीय दलको तर्फबाट भर्त्सना गर्न चाहन्छु । यसको प्रधानमन्त्रीले जिम्मा लिनुपर्छ । सरकारले गम्भीरताका साथ सदनमा आएर जवाफ दिनुपर्छ,’ उनले भने । विगतमा प्रतिपक्षका नेताहरूमाथि आक्रमण गरिएको र त्यसमा सरकारले ध्यान कम दिएको पनि उनको भनाइ थियो । यादवमाथि भएको घटनाको निर्ममताका साथ छानबिन गरी कारबाही गर्न उनले माग गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पनि उक्त घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । उक्त अराजक कार्यलाई निषेध गर्नका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । सामाजिक सञ्जालमा प्रचार गर्दै मुलुकमा अराजकता मच्चाउने खालका गतिविधि नियन्त्रण गर्नका लागि सबै राजनीतिक दल, नागरिक समाज, पत्रकारसहितलाई एकताबद्ध भएर अघि बढनुपर्ने उनको आग्रह थियो । ‘यस प्रकारका अराजक क्रियाकलापलाई रोक्न निम्ति राज्यका सम्पूर्ण निकाय, राजनीतिक दलहरुले गम्भीरतापूर्वक सोचेर यस प्रकारका प्रवृत्तिलाई निरुत्साहित गर्ने र अझ घोषणा गर्दै हिँड्ने जसलाई भेट्यो, उसैलाई आक्रमण गर्छौं भन्ने, सामाजिक सञ्जालमा बोल्दै हिँड्ने, सामाजिक सञ्जलामा भन्दै हिँड्ने र त्यो प्रकारको प्रवृत्तिलाई प्रोत्साहन गर्दै हिँड्ने, त्यसैमाथि होमा हो गरेर अगाडि बढने प्रवृत्तिलाई पनि हामीले निरुत्साहित गर्नैपर्छ,’ उनले भने, ‘त्यसो गर्न सकिएन भने समाज राज्यविहीन अवस्थामा जस्तो अराजक भएर जान्छ ।’
राप्रपाका नेता धवलशमशेर जबराले भने उक्त घटनाको विषयलाई लिएर आफ्नो पार्टीलाई आक्षेप लगाइएकोप्रति आपत्ति जनाए । उनले उक्त घटनाप्रति दुःख व्यक्त गरेका थिए । उनले आक्रमणकारी राप्रपासँग संलग्न नरहेको बताए ।
जनमतका सांसद अब्दुल खानले महेन्द्र यादवमाथिको आक्रमण व्यवस्थामाथिको आक्रमण भन्दै सरकारले छानबिन गर्नुपर्ने माग गरेका थिए । लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लाले स्वच्छ राजनीतिमा अपराधीकरणको कुनै ठाउँ नहुने बताए । उनले महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको छानबिन गरी कडा कारबाही गर्न माग गरेका थिए ।