२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

सरकारलाई चौतर्फी दबाब रहेको प्रधानमन्त्रीको दावी



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था आएको बताएका छन् । अहिलेको सत्ता गठबन्धन कति बलियो छ भन्ने देखाउन पनि समाजवादी मोर्चा गरिएको बताएका हुन् ।

आइतबार हेटौंडामा समाजवादी मोर्चा घोषणाको प्रदेशस्तरीय सन्देश सभामा बोल्दै प्रधानमन्त्रीले सबै कम्युनिष्ट शक्ति एक हुनुपर्ने अवस्था आएकाले समाजवादी मोर्चा बनाएको बताएका हुन् ।

‘हालको गठबन्धन टिकाउन मात्रै नभएर ठूलो शक्ति बन्न पनि कम्युनिष्टहरु एक हुनुपर्ने समय आएको छ। हुन त बेला-बेलामा मोर्चा धेरै दिन टिक्दैन भन्ने पनि चर्चा सुन्नमा आएको छ। तर यस्तो होइन’, प्रचण्डले भने।

यस्तै, उनले आफू जति समय प्रधानमन्त्रीका रहने हो, त्यतिन्जेल राम्रो काम गरेर देखाउने बताए । ‘कती समयसम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन। त्यही पनि प्रधानमन्त्री रहुन्जेल राम्रो काम गर्छु,’ उनले भने ।

आफ्नो चीन र अमेरिका भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवादको दिशामा अघि बढेको दाबी गरे । भ्रष्टाचारविरुद्ध र शुसासनका पक्षमा चलाइएको अभियानलाई निरन्तर अगाडि बढाइने उनले बताए ।

उनले सुशासन, सामाजिक न्याय र समृद्धि अभियान एकथरी मान्छेहरुलाई मन नपरेको बताए । ‘यो अभियान उनीहरुको सोच र उनीहरुले हिजो चलाएको बेथिति र कुशासनविरुद्ध लक्षित छ भन्ने छ’, उनले भने, ‘सरकारको नेतृत्व गरिरहँदा विभिन्न कोणबाट दबाब महसुस भइरहेको छ । पटक पटक प्रधानमन्त्रीविरुद्ध अदालतमा मुद्दा पर्ने गरेका छन् ।’

उनले विस्तृत शान्ति सम्झौताविरुद्ध गएर संविधानमाथि नै प्रहार गर्ने गरी मुद्दा हालिएको पनि बताएका छन् । ‘अदालतमाथि कुनै किसिमको अपमान गर्नु छैन’, उनले भने,‘संविधानको मर्मविपरीत दबाब दिन खोजिएको छ, तर्साउन खोजिएको छ। मुद्दा त परिरहन्छ तर यो सामान्य कुरा हो ।’

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ०९ बजे