४ असार २०८१, सोमबार | Mon Jun 17 2024

संविधानसभाका अध्यक्ष नेम्वाङको निधन, राजकीय सम्मान र सार्वजनिक विदा दिइने



संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको मंगबार बिहान हृदयघातका कारण निधन भएको छ । उनी ज्वरो आएकोले सोमबार दिनभर घरमै आराम गरेर बसेका थिए ।

उनको पारिवारिक स्रोतका अनुसार आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो । घरमै आएका डाक्टरले सोमबार साँझ नेम्वाङको स्वास्थ्य परीक्षण गरेको र उनलाई १०२ डिग्री ज्वरो आएको बताइएको छ ।

डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेकाले नेम्वाङले आराम गरेका थिए । बेलुका सुप खाएर सुतेका नेम्वाङ राति १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइएको थियो ।

अन्तरिम संसदको सभामुख र संविधान सभाको दुई कार्यकाल अध्यक्ष रहेका नेम्वाङ समन्वयकारी नेताका रुपमा लिइन्थे । हाल उनी इलाम क्षेत्र नं २ का सङ्घीय सांसद तथा एमाले संसदीय दलका उपनेतासमेत थिए ।

उनी राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाएका नेताका रुपमासमेत लिइन्थ्यो ।

सरकारले उनलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले निर्णय गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको कस्मिक बैठक उक्त निर्णय गरेको हो ।

बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

अन्त्येष्टि हुने दिन नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी भएको बताइएको छ ।

एमालेले नेम्वाङको शोक मनाउन तीन दिन पार्टीको झण्डा आधा झुकाउने र औपाचारिक कार्यक्रमहरु नगर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १ : ११ बजे