नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको सुन तस्करी भएको दाबी गर्दै त्यति नै बराबरको बिगो कायम गरी मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।
विभिन्न माध्यमबाट पछिल्लो समय ३ क्विन्टल ७८८ ग्राम सुन तस्करी भएको अनुसन्धानबाट पत्ता लागेको दाबी सीआईबीको दावी छ । यस प्रकरणमा संलग्न २६ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको छ ।
सीआईबीले पत्रकार सम्मेलनपछि बुधबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सुन तस्करी प्रकरणको प्रतिवेदन पेस गरेको हो ।
उनीहरुलाई सातवटा ऐनको दफा अनुसारको कसुरमा मुद्दा चलाउन सीआईबीले राय दिएको छ । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसूर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसूरमा कारबाही गर्न राय दिइएको छ ।
यो प्रकरणमा हालसम्म ३२ जना पक्राउ परिसकेका छन् । ती मध्ये २६ जनालाई मुद्दा दायर गर्न राय दिइएको छ । १८ जना फरार छन् । फरार मध्ये १४ जना विदेशी नागरिक हुन् ।
सुन तस्करीको प्रकरण अनुसन्धानलाई जारी राख्दै मुद्दा चलाउने गरी राय दिएको हो ।
“हाल सम्मको अनुसन्धानको क्रममा जम्मा ३२ जना नेपाली तथा बिदेशी नागरिकहरू पक्राउ परेका र रेडिट्रेड प्रा.लि.बाट आयात गरिएका ब्रेकप्याडहरूमा लुकाई छिपाई अवैध पैठारी गरेको जम्मा वरामद ६०.७१६ किलो र सुन निकाली पुन प्याकिङ गरिएको अवस्थामा बरामद भई आएका ब्रेकप्याडहरूको तौलबाट एकिन गरिएको ३०२.०६२ किलो गरी जम्मा ३६२.७७८ किलोग्राम सुनको हुन आउने मुल्य रु. ३,५०,०२,१६,५५२/- (तिन अर्ब पचास करोड दुई लाख सोह हजार पाँच सय वाउन्न) बराबरको सनु अवैध पैठारी भएको पुष्टि हुन आएको” सीआईबीले पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।