२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

उच्च अदालतका लागि २७ न्यायाधीश सिफारिस



न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको हो । सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।

नायव महान्यायाधीवक्ता एवं वेपत्ता छानबिन समितिका सचिवको जिम्मेवारीमा रहेका श्यामकुमार भट्टराईलाई १ नम्बर वरीयतामा राखी न्यायपरिषदले उच्च अदालतमा २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट १/१ जना सिफारिस भएका छन् । १८ जना जिल्ला न्यायाधीश छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका छन् ।

परिषदले भट्टराईपछि विभिन्न जिल्ला अदालतमा कार्यरत १८ जना न्यायाधीशलाई माथिल्लो वरीयतामा पर्ने गरी सिफारिस गरेको छ ।

त्यसरी सिफारिस हुनेमा क्रमशः राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुंगाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्र प्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजी बहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी, विनोदकुमार पोखरेल छन् ।

न्यायपरिषदले सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मीलाई २० औं क्रममा सिफारिस गरेको छ । कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला उनीपछि सिफारिस भएका छन् ।

सिफारिसमा पर्ने कानुन व्यवसायीमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ६ : १८ बजे