संगठित गिरोहमार्फत नेपालमा सुन तस्करी गरेको आरोपमा २९ जनाबिरुद्ध कुद्दा दायर गरिएको छ । त्यसमा भन्सारका पाँच कर्मचारी र नौ विदेशी नागरिकसमेत रहेका छन् ।
उनीहरु बिरुद्ध साढे ३ अर्ब रुपैयाँ बिगो कायम गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
करिब ६१ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले दावाजिन वाङलाई मुख्य नाइके किटान गरेर २९ जनाविरुद्ध आइतबार ३ अर्ब ५० करोड ३० लाख ९१ हजार ९ सय ७५ रुपैयाँ बिगो, कैद र जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको हो । अभियोगपत्रमा ११ महिनाको अवधिमा ब्रेक शुमा लुकाएर ३ सय ६३ किलो सुन तस्करी भएको उल्लेख छ । मुद्दामा प्रतिवादी बनाइएकामध्ये साउन २ यता २६ जना पक्राउ परिसकेका छन् । तीन जना फरार छन् । फरारको हकमा अदालतबाटै पक्राउ पुर्जी जारी गर्न भनिएको छ ।
अभियोगपत्रमा सबै प्रतिवादीविरुद्ध भन्सार ऐन २०६४ को दफा ५७ (१) र संगठित अपराध निवारण ऐन २०७० को दफा २ र ३ तथा ५ अनुसार बिगो, कैद र जरिवाना भराउन मागदाबी लिइएको छ । संगठित रूपमा आपराधिक समूह खडा गरी आयात हुने मालवस्तुको आवरणमा तस्करीको सुन ल्याएको कसुरमा उनीहरूलाई सजाय हुनुपर्ने मागदाबी छ । तस्करीको धन्दा चलाउने क्रममा अन्य अपराधमा समेत जोडिएकालाई संलग्नता र भूमिकाअनुसार नेपाल राष्ट्र बैंक ऐन, मुलुकी अपराध संहिता ऐन, राहदानी ऐन, नागरिकता ऐन र अध्यागमन ऐन गरी अरू थप ५ कसुरमा पनि सजाय गर्नुपर्ने मागदाबी छ ।
दुद्दा दायर गरिएकामा चिनियाँ नागरिक एलेक्स भन्ने याओ फुचेन, अली भन्ने ली वेन सुङ, ली नेङकाई, लीन चछ्याङ, देङ सेङ फा, याङ वेन, मि सियान, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ, तिब्बती मूलका भारतीय नागरिक टासी भनिने थुप्तिन छिरिङ रहेका छन् । त्यसैगरी नेपालीहरू हर्कराज राई, कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, राजेन्द्रकुमार राई, यादव पराजुली, सुदर्शन गौतम, रामकुमार भुजेल, दिलीप भुजेल, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, रुक्मिना सुब्बा, भोला साह सोनार, जीवन चलाउने, अमला रोका, सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठलाई सुन तस्करीमा सघाएको कसुरमा प्रतिवादी बनाइएको छ । यसमध्ये सन्तोष चन्द, गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपाली, कुमार ढकाल र सरोज श्रेष्ठ विमानस्थल भन्सारका कर्मचारी हुन् ।