१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

प्रधानमन्त्री दाहाल अमेरिकाबाट चीन जाने, भ्रमणको कार्यक्रम सार्वजनिक



प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबारदेखि एकसाता चीनको भ्रमण गर्ने भएको छ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री दाहालको कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।

मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी भ्रमणको तालिका सार्वजिनक गरेको हो । चीनका प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा हुन लागेको भ्रमणमा उनले राष्ट्रपति सी चिनफिङसँग पनि भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला रहने बिज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, अन्य वरिष्ठ सरकारी अधिकारीहरुका साथै व्यापारिक समुदायका प्रतिनिधिहरुसमेत भ्रमण दलमा रहने छन् । राष्ट्रपति सीसँग हाङझाउमा भेटबार्ता गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहालले बेइजिङस्थित नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्नेछन् ।

प्रधानमन्त्रीले चीनको अन्तर्राष्ट्रिय व्यापार परिषद् (सीसीपीआईटी), नेपालको उद्यो वाणिज्य महासंघ र बेइजिङस्थित नेपाली दूतावासले संयुक्त रुपमा आयोजना गरेको ‘चीन–नेपाल लगानी सम्मेलन’लाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल सेप्टेम्बर २३ मा हाङ्जाओमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनुहुनेछन् ।

उनले चीनको कृषि तथा औद्योगिक विकासको अवलोकन गर्न चोङकिङ नगरपालिकाको भ्रमण गर्ने कार्यक्रम छ । उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गर्नेछन् । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको महासभा भाग लिन हाल अमेरिकामा छन्, त्यहीबाट चीन भ्रमणमा जाने कार्यक्रम यसअघि नै तय भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८०, बिहिबार  ६ : २२ बजे