नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा ५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँको विद्युत भारतलाई बेचेको छ । प्राधिकरणले साउनमा १ अर्ब ९४ करोड ८४ लाख र भदौमा ३ अर्ब ४८ करोड ४८ लाख रुपैयाँको विद्युत् भारतीय बजारमा निर्यात गरेको जनाएको छ । दुई महिनामा ३ अर्ब ३९ करोड ५७ लाख भारतीय रुपैयाँको (५ अर्ब ४३ करोड ३१ लाख रुपैयाँ) विद्युत् निर्यात गरेको हो ।
साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्री दर क्रमश: ८ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ। दुई महिनाको समग्र औसत विद्युत् बिक्री दर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ।प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरेको पनि स्पष्ट पारेको छ ।
प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लि–एनभिभिएनलाई बिक्री गरिरहेको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभिभिएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको छ।
यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।