सरकार र तीन दिनदेखि काठमाडौंमा आन्दोलरत शिक्षकहरुबीच सहमति भएको छ । आन्दोलित शिक्षकहरु उक्त सहमतिमा हस्ताक्षर गर्न तयार भएसँगै अब आइतबारदेखि देशभरका विद्यालय खुल्ने भएका छन् ।
शुक्रबार अपरान्ह भएको चौथो चरणको वार्ताबाट दुवै पक्षबीच ६ बुँदे सहमति बनेको हो । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राई र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी भएको बार्तामा शिक्षक महासंघका पदाधिकारीहरु सहमतिमा आएको हो ।
बार्तामा सरोकारवाला मन्त्रालयका सचिवहरूका साथै आन्दोलनरत महासंघको तर्फबाट अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी थिए ।
संसदमा पेश भएको विधेयकका प्रावधानहरुमा असहमति जनाउँदै सामुदायिक विद्यालय बन्द गरेर देशभरका शिक्षकहरु आन्दोलन गर्न राजधानी आएका थिए ।
शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको थियो ।
सरकारले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा दर्ता गरेपछि त्यसमा रहेका प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूले आन्दोलन गरेका थिए ।
शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्नेजस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासंघले बुधबारदेखि काठमाडौँमा आन्दोलन थालेको थियो। शिक्षकहरुले देशभरका सरकारी र सामुदायिक विद्यालय पूरै बन्द गरिदिएका थिए।