प्रधानमन्त्री पुष्पकमल दाहाल एक साता लामो भ्रमणका लागि शनिबारदेखि चीनमा छन् । शनिबार हाङ्जाओमा राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गरेका दाहाल आइतबार बेइजिङ आइपुगेका छन् । आइतबार स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ पुगेका हुन् ।
उनले आइतबार बेइजिङमा हुने ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सीसीपीआईटीले सम्मेलनको आयोजना गरेको हो ।
उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनेछन् । सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ ।
सी–दाहाल भेट: एकअर्काका हित र चासोलाई सधैँ समर्थन
प्रधानमन्त्री दाहालले नेपाल र चीन एकअर्कालाई बुझ्ने, भरपर्दो र एकअर्कालाई साथ दिने मित्र र साझेदार भएको बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङसँग चीनको हाङ्जाओमा भएको द्विपक्षीय वार्तामा प्रचण्डले सीले अघि सारेका बीआरआईलगायत पहलहरुलाई समर्थन गर्ने पनि बताए ।
१९औँ एसियन गेम्सको उद्घाटनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री दाहालसँग सीले चीनले नेपालसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएका थिए । उनले नेपालको विकास रणनीति तयार गर्न चीन नेपालसँग मिलेर काम गर्न तयार रहेको पनि बताए ।
राष्ट्रपति सीले ट्रान्स हिमालयन थ्री डाइमेन्सनल इन्टरकनेक्सन नेटवर्कले आकार थालेको भन्दै दुई मुलुकले पूर्वाधार कनेक्टिभिटीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
‘दुई पक्षले पूर्वाधार कनेक्टिभिटी प्रवर्द्धन, यातायात सहकार्य विस्तारका साथै नेपाललाई सकेसम्म चाँडो भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन ध्यान केन्द्रित गर्नुपर्छ,’ सीले भने, ‘चीन चिनियाँ उद्यमहरुलाई नेपालमा लगानी तथा व्यवसाय सुरु गर्न तथा नेपाली उत्पादनहरु चीनमा निर्यात गर्न प्रेरित गर्छ।’
अमेरिकाको न्युयोर्कबाट सिधै चीन पुगेका दाहालले आइतबार साँझ ५ बजेर ४५ मिनेटमा नेपाली दूतावासमा स्वागत रिसेप्सनमा सहभागी हुने छन् । बेइजिङमा ८ आसोज (२५ सेप्टेम्बर) मा प्रचण्डको व्यस्त कार्यतालिका छ । सो बिहान साढे ८ बजे प्रचण्ड तिआनमेन स्क्वायरमा पुग्नेछन्, जहाँ प्रचण्डले माओ मेमोरियल हलमा फूल चढाउने कार्यक्रम छ ।
लगत्तै ९ बजेर ४५ मिनेटबाट आधा घण्टा प्रधानमन्त्री प्रचण्ड र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष चाओ लेजीबीच भेटवार्ता हुनेछ । चाओ चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली चिङपछि तेस्रो नम्बरका नेता हुन् ।
त्यसपछि तिआनमेन स्क्वायरमा प्रधानमन्त्री प्रचण्डलाई गार्ड अफ अनरसहित स्वागत कार्यक्रम राखिएको छ ।
त्यसपछि सोही ठाउँमा रहेको ग्रेट हल अफ द पिपलमा चीनका प्रधानमन्त्री ली चिङसँग प्रधानमन्त्री प्रचण्डको दुई पक्षीय वार्ता तय गरिएको छ । वार्तापछि दुई प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र चीनबीच केही सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।
लगत्तै चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री प्रचण्डको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् । सोही दिन २ बजे ह्वावे बेइजिङ अनुसन्धान केन्द्र अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
चीन भ्रमणको चौथो दिन ९ असोज (२६ सेप्टेम्बर) मा प्रचण्ड राजधानी बेइजिङबाट पश्चिमको चीनको सहर चङकिङतर्फ उड्ने छन्, जहाँ एक दिन रहँदा कृषिको आधुनिक विकास र सूचना प्रविधिमा चीनले गरेको प्रगति अवलोकन गर्ने कार्यक्रम छ ।
लगत्तै प्रधानमन्त्री प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा चङकिङ नगर कमिटिका सचिव युयान जियाजुनले भेटवार्ता र सँगै डिनर गर्ने कार्यक्रम छ।
१० असोज (२७ सेप्टेम्बर) मा चङकिङबाट तिब्बतको ल्हासा पुगेर प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका सिन्जियाङ स्वायत्त क्षेत्रीय कमिटीका सचिव वाङ जुनझेङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।