प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जनयुद्ध दिवस’ भनेर फागुन १ मा दिइएको सार्वजनिक बिदा फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् । आगामी मन्त्रिपरिषद्को बैठकले यो फिर्ता नलिए माओवादीले युद्ध त्यागेको छैन भन्ने प्रष्ट हुने उनको तर्क छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका एमाले अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला शान्ति प्रक्रिया टुंग्याउन खोज्दा प्रचण्डको साथ नपाएको पनि बताए ।
‘सम्माननीय प्रधानमन्त्री, युद्धका घाउ–खाटा सदाका लागि निको पारौं भन्ने हाम्रो प्रयासलाई असफल पारेर परिस्थितिलाई भड्काउने दाउमा हुनुहुन्छ । शान्ति प्रक्रियाको टुंगो होइन, युद्धको प्रक्रियाको सुरुवात गर्न खोज्दै हुनुहुन्छ’ उनले भने ।
हिजोको कुरा बिर्सिएर मेलमिलापका साथ अगाडि बढ्नुपर्ने बेला प्रधानमन्त्री प्रचण्डले हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका रूपमा घोषणा गरेको उनले बताए । ‘भोज खाऊ, बाजा बजाऊ, नाच भनेर राष्ट्रिय बिदा घोषणा गर्नुभयो’ उनले भने, ‘एक वर्षका लागि होइन, सधैं–सधैंका लागि । यो बिदा मान्य छैन ।’
माघ मसान्तमा आफूहरूको विरोधका बाबजुद सरकारले यस्तो निर्णय गरेको उनले बताए । त्यो बेला आफू स्वयंले प्रधानमन्त्रीलाई घाउको खाटा उप्काएर नुनचुक लगाउने काम किन गर्ने भन्दै रोक्न खोजेको भन्दै उनले भने, ‘शहीदका बच्चाबच्ची पढाउने जिम्मा नलिने, तिनका अगाडि उत्सव मनाउने ? घाइतेको उपचार नगर्ने, तपाईंले उत्सव मनाउनुपर्ने ?’
उनले प्रचण्डले बलजफ्ती बिदा घोषणा गरेको र शान्तिका प्रयास गर्नेहरूलाई मुहतोड जवाफ दिएको पनि बताए । यसपटक पनि फागुन १ मा सार्वजनिक बिदा राखिएको भन्दै एमाले अध्यक्ष ओलीले हिंसा सुरु भएको दिनलाई राष्ट्रिय उत्सव मनाउन आफूहरू तयार नरहेको बताएका छन् ।
‘यो आउने मन्त्रिपरिषद्बाट त्यो निर्णय फिर्ता गर्नुस्’ जेसुकै कारणले होस्, द्वन्द्व उचित नभएको भन्दै उनले चेतावनीपूर्ण भाषामा भने, ‘बिदा रद्द गर्नुहुन्न भने हामीले यसका विरुद्ध कदम चाल्नुपर्ने हुन्छ ।’