३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

‘गुन्डा नाइके’ रिगललाई माफी दिनुको लिखित कारण माग



सर्वोच्च अदालतले नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्न सरकारसँग माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा लिखित कारण माग गरेको छ भने पीडित परिवारको सुरक्षा व्यवस्था गर्न भनेको छ ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ढकाललाई सजाय माफी दिएका थिए । पतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधान विपरीत भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जसमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको हो ।

तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके ढकालले भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे । असुलीमा व्यवधान गरेको भन्दै २०७२ असार २८ अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेकोमा अदालतले सजाय दिएको थियो । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३/३ वर्ष कैद सजाय सुनाएको थियो ।

गुन्डा नाइकेहरूविरुद्ध प्रहरीले इन्काउन्टर शृंखला चलाएपछि रिगलले ज्यान जोगाउने उद्देश्यले आत्मसमर्पण गरेका थिए । साविक मुलुकी ऐन २०२० अनुसार उनी २० वर्ष कैद बस्नुपर्ने हो, गत असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुग्दै थियो । तर, कांग्रेससहितको गठबन्धन सरकारले उनलाई रिहा गरेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ५ : २२ बजे