त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको छ । आयोगका सदस्यमा पूर्वसहसचिवद्वय किशोरजङ्ग कार्की र प्रेमराज जोशी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन् ।
असोज १४ गते गठन भएको उक्त आयोगका अध्यक्ष डिल्लीराम आचार्यले यही आफुहरुसँग अदालतसँग जस्तै आवश्यक परे पक्राउ गर्नेसमेत अधिकारी रहेको बताएका छन् ।
सुन तस्करी जाँचबुझ आयोगको पहिलो बैठकले निर्णय सार्वजनिक गर्न आयोजित पत्रकारसम्मेलनमा उनले बोलाउँदा नआउने व्यक्तिलाई पक्राउसमेत गर्ने अधिकार आयोगलाई भएको बताए ।
उनले भने, ‘हामीलाई अदालतलाई भए सरहको अधिकार छ। बोलाउँदा नआउने व्यक्तिलाई पक्राउ पनि गर्छौं ।’ यस्तै अध्यक्ष आचार्यले आयोगका लागि भोलिसम्ममा थप ५ जना कर्मचारी गृह मन्त्रालयबाट आउने जानकारी पनि दिए ।
‘५ जना कर्मचारी गृह मन्त्रालयबाट भोलिसम्ममा आउनेछन्’, उनले भने, ‘आवश्यक परे थप जनशक्ति मगाउँछौँ।’









