कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशसभामा राजीनामाको घोषणा गरेका छन् । उनले सबै राजनीतिक दलसँग सहकार्यका लागि राजीनामा गर्न लागेको जानकारी दिएका हुन् ।
राजीनामा घोषणा गर्नुअघि मुख्यमन्त्री कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले आ-आफ्ना दलीय आग्रह नछोडेमा जनचाहनाविपरीत मध्यावधि निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रदेश संरचनाविरुद्धमा आवाज उठिरहेको अवस्थामा राजनीतिक दलहरूले सचेत भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
राजीनामाबारे उनले भने, ‘मैले आज विश्वासको मत लिनुअघि प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको पदबाट राजीनामा बुझाउने निर्णय गरेको छु । त्यही निर्णय तपाईंहरूसमक्ष सुनाउनका लागि उभिएको छु ।’
प्रदेशसभामा विश्वासको मत माग्ने प्रस्ताव राख्दै मुख्यमन्त्री कार्कीले राजनीतिक दलहरू मिलेर गएनन् भने मध्यावधि अवश्यम्भावी रहेको बताए । आर्थिक, सामाजिक र राजनीतिक कुनै पनि अवस्थाले कोशी प्रदेशसभाको मध्यावधि निर्वाचनको माग नगरिरहेको पनि उनको भनाइ थियो । उनले प्रदेशसभामा रहेका राजनीतिक दलहरूले केन्द्रको आदेश कुर्दा समस्या भएकाले प्रदेश संरचनामा नै रहेका नेताहरूले निर्णय लिनुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले यसबीचमा जानेर वा नजानेर कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताए । ‘हामीले दलको स्वार्थ वा हितका लागि गर्दा कहिलेकाहीं राजनीति जटिल मोडमा जान सक्छ । हामीले कदम चाल्दै गर्दा ठीक गर्दै छौं कि गलत गर्दैछौं भन्ने कुरा सोच्नुपर्छ भन्ने घटनाक्रमले देखाएको छ,’ उनले भने ।
प्रदेशको राजनीतिलाई सहीमार्गमा लैजान एमाले जस्तोसुकै त्याग गर्न तयार रहेको पनि मुख्यमन्त्री कार्कीको भनाइ थियो । ‘एमालेले कस्तो त्याग गर्दा सहमति, सहकार्यको अवस्था सिर्जना हुन्छ, तत्काल मध्यावधि निर्वाचन रोकिन्छ त्यसका लागि एमाले दुई हात उठाएर सहयोग गर्न तयार छ । अरु दलहरू पनि त्यो ढंगले आउनुपर्यो,’ उनले भने ।