४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

इजरायलबाट शव ल्याउने केही समय लाग्ने, विद्यार्थी लिन मन्त्री आफै जाने



इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन प्रकृयागत रुमाप केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण ल्याउन ढिलाइ भएको बताइन् ।

इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन भने बुधबार राति नेपाल वायु सेवा निगमको जहाज उड्दै छ । इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव उक्त जहाजमा ल्याउन भने नसकिने जानकारी दिइन् ।

‘यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो,’ उनले भनिन्, ‘इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।’

धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन् ।

आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन् । ‘भर्खरै दुई जना विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनु भएको जानकारी आएको छ,’ प्रवक्ता लम्सालले भनिन् । सम्पर्कविहीन रहेका महेन्द्रनगरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको पनि उनले बताइन् । सरकारले बुधबार राति नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल वायु सेवा निगमको जहाज पठाउन भएको छ ।

विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री साउद पनि जाने

नेपाली विद्यार्थीको उद्धार र स्वदेश फिर्ताको प्रबन्ध गर्न परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको हो ।

बैठकपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले इजरायलमा जोखिममा रहेका नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली त्यसतर्फ जाने तयारी भएको बताए ।

उनका अनुसार बुधबारै राति मन्त्रीसहितको टोली विमान लिएर इजरायल जाँदैछ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : २४ बजे