२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

कोशीको मुख्यमन्त्रीमा माओवादी आङ्बो र कांग्रेसको कार्कीको दाबी



सत्ता गठबन्धन दलले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादीलाई समर्थन गर्ने भनेर प्रदेशसभा सदस्य इन्द्र आङ्बोलाई अघि सारे पनि काँग्रेसकै केदार कार्कीको पनि दाबी पेश गरेका छन् ।

माओवादी संसदीय दलका नेतासमेत रहेका आङ्बोले सत्ता गठबन्धनको तर्फबाट भन्दै मुख्यमन्त्रीका लागि बिहीबार अपरान्ह प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी गरेका थिए । उनलाई अघि सार्ने सत्तारुढ दलको शीर्ष तहका नेताहरूले आजै मात्र निर्णय गरेका थिए ।

सत्ता गठबन्धनका चारदलसँग कोशी प्रदेश सभामा ४७ सांसद छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि (शुक्रबार) ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन् ।

शीर्ष नेताहरुको सहमतिलाई चुनौती दिंदै कांग्रेसकै प्रदेशसभा सदस्य केदार कार्कीले पनि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी गरेका छन् । कार्कीले नेकपा एमालेका ३९ र कांग्रेसकै ८ जना सांसदको समर्थन लिएर मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।

उनी कांग्रेस नेता शेखर कोइराला पक्षका नेता हुन् । कोशीमा कोइराला पक्षका १० सांसद भएपनि तीनजनाले भने कार्कीको पक्षमा हस्ताक्षर नगरेको बताइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  ६ : ०० बजे