३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

कोशी प्रदेश मुख्यमन्त्रीमा समर्थन गरेका सांसदको सनाखत गरिने



कोशी प्रदेश मुख्यमन्त्रीमा दुई जनाले बहुमत पुर्याएको दाबी गरेपछि समर्थन गरेका सांसदहरुको शनिबार सनाखत गरिने भएको छ । शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म प्रदेश प्रमुख पर्शुराम खापुङले सनाखत गर्न लागेका हुन् ।

दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा तोकिएको समयमा उपस्थित हुन आग्रह गरिएको छ ।

‘मुख्यमन्त्री पदमा नियुक्तिका लागि कोशी प्रदेशसभा सदस्यहरू माननीय इन्द्रबहादुर आङ्बो र माननीय केदार कार्कीले ४७/४७ जना सदस्यहरूको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेस गरेको अवस्थामा,’ प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा छ, ‘कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी प्रदेश सरकार गठनका लागि माननीय प्रदेश प्रमुखज्यूले भोलि मिति २०८०/६/२७ गते शनिबार बिहान ८:०० बजेदेखि दिउँसो २:०० बजेसम्म दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा उपस्थित भई सनाखत गरिदिने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ ।’

मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखले शुक्रबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेबमोजिम आङ्बो र कार्कीको दाबी पेस भएको हो । आङ्बो सत्ता गठबन्धन र कांग्रेस नेता कार्कीले एमाले सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।

सत्कारुढ गठबन्धनको तर्फबाट माओबादीका इन्द्रबहादुर आङ्बोले दाबी गरेका थिए भने असन्तुष्ट कांह्रेस सांसद केदार कार्कीले एमालेको समर्थनमा दाबी पेश गरेका हुन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ८ : २४ बजे