मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका-४, फाखेल, पुरण्डीमा निर्माणाधीन रिगडुग दोङटुग लिङ गुम्बालाई तामाङ सोसाईटी अफ अमेरिका मार्फत सहयोग संकलन गरिएको छ । सोसाईटीका पुर्व अध्यक्ष इन्द्र तामाङको पहलमा लगभग सवा ८ लाख रुपैयाँ संकलन भएको छ । रिगडुग दोङटुग लिङ गुम्बा समितिका अध्यक्ष धिरज लामा र लामागुरुको आग्रहपछि विभिन्न व्यक्ति तथा संस्थाबाट ६ हजार १ सय ७८ अमेरिकी डलर (करिब ८ लाख २० हजार रुपैयाँ) रकम संकलन गरिएको हो ।
तामाङ सोसाइटी अफ अमेरिकामार्फत सहयोग संकलनका लागि अनुरोध आएकोले सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर रकम उठाइएको पूर्वअध्यक्ष तथा तामाङ कल्चर एन्ड बुद्धिस्ट सेन्टरका संयोजक तामाङले बताए । उनका अनुसार संकलित रकममध्ये २५ सय डलर पठाइसकिएको र बाँकी रकम औपचारिक समारोह गरी तामाङ सोसाइटीमार्फत हस्तान्तरणको तयारी रहेको छ । स्थानीयको जग्गादानबाट निर्माण गरिएको उक्त गुम्बाको पहिलो तला निर्माण सम्पन्न भै प्रयोगमा आईसकेको छ ।
गुम्बालाई धार्मिक एवं साँस्कृतिक कृयाकलापका साथै बौध्द शिक्षा प्रणालीका लागि प्रयोग गरिने पूर्वअध्यक्ष तामाङले जानकारी दिए । गुम्बा निर्माणको लागी सानुमाईली तामाङले १ रोपनी ८ आना र कान्छी रुम्बाले १ रोपनी १ आना १ पैसा जग्गादान गुम्बा गरेकी थिइन । पूर्वअध्यक्ष तामाङले व्यक्तिगत रुपमा यसअघि करिब १९ लाख ७५ हजार रुपैयाँ गुम्बामा सहयोग गरिसकेका छन । पूर्वअध्यक्ष तामाङले आफ्नो जन्मस्थलमा निर्माण भइरहेको गुम्बामा सहयोगका अपिल गर्दा खुला दिलले होस्टेमा हैंसे गर्ने अमेरिकावासी सबै दाताहरुमा धन्यवाद व्यक्त गरेका छन । तामाङ समुदायको बाहुल्य रहेको फाखेलको पुरण्डीमा यो नै पहिलो गुम्बा हो । गुम्बा निर्माण कार्य बाँकी रहेकोले सहयोग गर्न चाहनेहरुले अझै सहयोग दिन सकिने उनको भनाइ छ ।