संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सहयोग गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि विभिन्न तीन सुझाव दिएका छन् ।
आइतबारदेखि नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् ।
उनले संक्रमणकालीन न्यायको विषय टुंगोमा पुर्याउँदा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय मापदण्ड, पीडित परिवार समुदाय र मानवअधिकारका विषयलाई हेक्का राख्नुपर्ने बताए ।
उनले शान्ति प्रक्रिया टुंगो लगाउँदा पीडितको पक्षमा ध्यान दिन सुझाव दिए ।
नेपाल शान्ति र जनताको अधिकारको पक्षमा लामो समयदेखि वकालत गरिरहेको देश रहेको उनको भनाई छ । ‘शान्ति प्रक्रियाका पक्षमा नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ,’ उनले भने ।
साथै, उनले इजरायल–हमास युद्धमा बन्धक बनाइएकाहरूलाई बिनासर्त रिहाई गर्नुपर्ने पनि बताए ।
‘हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु,’ उनले भने ।
विपिन जोशीको सुरक्षित घरफिर्तीको कामना
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको सुरक्षित घर फिर्तीको कामना गरेका छन् ।
आइतबारबाट चार दिने नेपाल भ्रमणमा रहेका गुटेरेसले सिंहदबारमा एक पत्रकार सम्मेलन आयोजना गर्दै इजरायल–हमास युद्धमा बन्धक बनाइएकाहरूलाई बिनासर्त रिहाई गर्नुपर्ने बताए ।
‘इजरायलमा भएको आक्रमणमा परेर बेपत्ता भएका विपिन जोशीलाई सुरक्षित घर फर्कन मेरो तर्फबाट शुभकामना छ,’ उनले भनेका छन्।
साथै, उनले निहत्था नागरिकहरूमाथिको आक्रमण्ढा कुनै पनि अवस्थामा न्यायोचित नहुने उल्लेख गरे । साथै, उनले हमासले गरेको आक्रमणबाट निधन भएका १० नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन् ।
‘हमासले गरेको आंतकपूर्ण आक्रमणबाट १० जना नेपाली विद्यार्थीहरु मारिएको घटनाप्रति उनीहरुका परिवारजनमा मेरो गहिरो समवेदना छ र हराईरहेका विपिन जोशी सुरक्षित रुपमा फर्किन्छन् भन्ने कामना गर्दछु,’ उनले भने।








