२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

कम्बोडियाको लगानी प्रमाणित गर्न ओलीको चुनौती, प्रमाणित गरे एक हजार थपेर सबै दिने



एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी पत्ता लगए एक हजार रुपैयाँ थपेर दिने बताएका छन् ।

”कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भनेर भने छन्, देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु” एमाले गण्डकी प्रदेशले पोखरामा सोमबार गरेको कार्यक्रममा ओलीले भने ।

आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ थियो । पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाइले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको दावी गरेका थिए । ओलीले प्रसाईज्ञको नाम नलिइ यस्ता आरोप लगाउने ‘भुस्याहा कुकुर’ भएको बताए ।

‘राज्यको ढुकुटीबाट १ पैसा पनि आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो, एमाले यसको विरोधमा छ, कुनै कम्प्रमाइज गर्दैन,’ उनले भने । आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताए ।

‘मैले र श्रीमतीले सबै सम्पत्ति दान गरिसकेका छौं, कसका लागि सम्पत्ति राख्ने,’ उनले भने, ‘मैले भ्रष्टाचार गर्ने, अरुलाई दिने मुर्खता केपी ओलीले गर्दैन ।’

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : २६ बजे