प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख राजनीतिक दलहरू एकै स्थानमा उभिएर वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि अपिल गर्ने तयारी भइरहेको बताएका छन् । प्रधानमन्त्री दाहालले त्यसका लागि मुख्य राजनीतिक दलहरूबीच समझदारी पनि भएको बताए ।
बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालले स्तरोन्नति गरेर थप गर्न लागेको २ सय शय्या सञ्चालनका लागि निर्माण हुने भवनको शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक र आर्थिक संकट समाधाना सरकार पनि गम्भीर भएको बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न विस्तृत शान्ति सम्झौताका पक्षधर मुख्यदलहरू एकै स्थानमा उभिएर १/२ दिनभित्रै हामीले अपिल गर्ने तयारीमा छौं,’ उनले भने, ‘अहिले राजनीतिक संकट र आर्थिक संकट समाधान गर्ने विषयमा पनि सरकार गम्भीर छ ।’ उनले प्रधानमन्त्रीकै उपस्थितिमा समीक्षात्मक समीक्षासहित विशेष कार्ययोजना पनि सार्वजनिक गर्न लागेको बताए ।
आर्थिक क्षेत्रको सुधारका लागि पनि सरकार निरन्तर प्रयासमा लागेको उनले बताए । ‘सरकारकै प्रयासले बैंकको ब्याजदर केही घटेको छ, त्यसलाई एक अंकमा झार्ने प्रयासमा सरकार छ,’ उनले भने, ‘थप राजनीतिक र आर्थिक कमिटमेन्ट पनि हामीले दलहरूको तर्फबाट सामूहिक रुपमा गर्दैछौं, त्यसपछि पनि आर्थिक क्षेत्र थप सुधार हुनेछ ।’
प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका भारत, संयुक्त राष्ट्रसंघ, अमेरिका र चीन भ्रमणका परिणामहरू पनि आउने क्रममा रहेको बताए । ‘कतिपय परिणाम आउन समय लाग्छ,’ उनले भने, ‘त्यस्ता परिणामहरू अब आउने क्रममा रहेका छन् ।’