ललिपुर जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी गैर आवासीय नेपाली नागरिकता लिनको लागि आवश्यक प्रकृया र कागजातका बारेमा स्पष्ट पारेको छ ।
कातिक १ गते जारी गरेको सूचना अनुसार गैर आवासीय नेपाली नागरिकता लिन चाहनेले नेपाली नागरिकता नत्यागेको भए पहिला नागरिकता परित्यागको प्रकृया सुरु गर्नु पर्ने उल्लेख छ ।
त्यसका लागि सक्कल नेपाली नागरिकता र आफुले लिएको विदेशी मुलुकको नागरिकता र राहदानीसहित प्रतिलिपि शाखामा पुगेर अनुसूची ९ अनुसारको फाराम भरेर नागरिकता परित्यागको लागि सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
यसरी नेपाली नागरिता त्यागको प्रकृया पुरा गरेपछि नागरिकता त्यागेको निस्सा लिनुपर्ने छ । यसरी नागरिकता परित्याग सम्बन्धित नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयमा गर्नुपर्ने छ ।
गैर आवासीय नेपाली नागरिकता लिनका लागि सम्बन्धित वडाको अनूसूची ८ ग बमोजिमको सिफारिस, अनूसूची ८ घ अनुसारको प्रतिबद्धतचापत्र तथा अनुसूची ८च अनुसारकफो सपथ, नेपाली नागरिकता र राहदानी परित्याग गरेको प्रमाणको सक्कल र प्रतिलिपि र सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण पेश गर्नु पर्ने सूचनामा उल्लेख छ ।
त्यसैगरी सनाखतको लागि निवेदनको नाताभित्र नातेदार नेपाली नागरिकतासहित उपस्थित हुनुपर्नेछ भने नजिकको नातेदार नभएको खण्डमा थप बुझी निजलाई चिन्ने नेपाली नागरिकबाट सनाखत गराउन सकिने उल्लेख छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयले प्रहरीको स्थलगत सर्जमिन मुचुल्का लगायत अन्य माध्यमबाट थप विवरण बुझ्न सक्ने पनि उल्लेख छ ।
साथै गैर आवासीय नेपाली आफु नागरिक रहेको मुलकुस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली दुतावास वा महावाणिज्य दुतावासमा निवेदन दिई नेपाली नागरिकता परित्याग गर्न सकिने पनि सूचनामा उल्लेख छ ।
हालै मात्र जारी नागरिकता ऐन अनुसार गैर आवासीय नेपालीलाई राजनीतिक अधिकार बाहेककको साँस्कृतिक र आर्थिक अधिकारसहितको नागरिता दिने व्यवस्था अनुसार नागरिकता दिने व्यवस्था भएको हो । यसअघि गैर आवासीय नेपालीलाई नागरिकताको व्यबस्था थिएन ।