६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

भूकम्पबाट जाजरकोटमा मात्र १०१ को मृत्यु, ९ हजार ७ सय घरमा पूर्णरुपमा क्षति, ६७ हजार विस्थापित



गत शुक्रबार गएको भूकम्पबाट जाजरकोटका मात्रै १०१ को मृत्यु भएको छ भने ९ हजार ७ सय घरमा पूर्ण क्षती हुँदा ६७ हजार विस्थापित भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार जिल्लाका सात स्थानीय तहका कुल ९ हजार सात सय १४ घरहरु पूर्णरुपमा क्षति पुगेको छ ।

गत शुक्रबार राति ११:४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले गएको थियो । त्यसले जाजरकोट र रुकुमलाई प्रभावपत बनाएको छ ।

कार्यालयका अनुसार भेरी नगरपालिकमा २ हजार ५३० घर, नलगाड नगरपालिकामा दुई हजार १०८, छेडागाड नगरपालिकामा १ हजार ९४५ घरधुरी, बारेकोट गाउँपालिकाका एक हजार ३५, कुशे गाउँपालिकाका १ हजार ५०४, जुनिचाँदे गाउँपालिकाका ६३४ र शिवालय गाउँपालिकाका ३८ वटा घरहरू पूरै क्षति भएका छन् ।

यस्तै, यी सातवटा स्थानीय तहमा ९ हजार १८६ विस्थापित घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्तापित भएका छन् । सबै भन्दा धेरै कुशे गाउँपालिमा एक हजार ५०४ विस्थापित घरधुरीका २५ हजार ८१५ जनसंख्या र सबै भन्दा कम शिवालय गाउँपालिकामा विस्थापित ३८ घरधुरीका १३० परिवार विस्थापित भएका छन् ।

जुनिचाँदे गाउँपालिमा विस्तापित ६३४ घरधुरीका ३ हजार ४४९ परिवार, बारेकोट गाउँपालिका विस्थापित एह जार ३५ घरधुरीका पाँच हजार ६३२, भेरी नगरपालिका विस्थापित ३ हजार ५३४ घरधुरीमध्ये १४ हजार ९९७ जनसंख्या, नलगाड नगरपालिकामा विस्थापित दुई हजार १०८ घरधुरीमा १५ हजार ३२१ र छेडागाड नगरपालिकामा विस्थापित भएका ३३३ घरधुरीका एक हजार ८१० जना परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

भूकम्पबाट जाजरकोटमा ३४ हजार पाच सय १ घरधुरीका एक लाख ७९ हजार बढी जनसंख्या पनि प्रभावित भएका छन् ।

जसमा शिवालय गाउँपालिकाका प्रभावित २ हजार ८०६ घरधुरीका १५ हजार २६९, कुशे गाउँपालिका ४ हजार ६०२ घरधुरीका २५ हजार ८१५, जुनिचाँदे गाउँपालिकाका ३ हजार ९४८ घरधुरीका २१ हजार ७३३, बारेकोट गाउँपालिका ३ हजार ३२१ घरधुरीका १८ हजार ८३ जनसंख्या प्रभावित भएका छन् ।

भेरी नगरपालिकाका ६ हजार ७६८ घरधुरीका ३८ हजार २०१, नलगाड नगरपालिकाका ६ हजार ५३३ घरधुरीका २५ हजार ४९७ र छेडागाड नगरपालिकाका ६ हजार ४९० घरधुरीका ३५ हजार २९५ जनसंख्या प्रभावित भएको जाजरकोट प्रशासनले जनाएको छ ।

भूकम्पका कारण जाजरकोट जिल्लाभरी २४ हजार ७०७ घरहरुमा आशिंक क्षति पुगेको छ ।

जसमा शिवालय गाउँपालिकामा २ हजार ७६८, कुशे गाउँपालिकामा तीन हजार ९८, जुनिचाँदे गाउँपालिकामा तीन हजार ३४४, बारेकोट गाउँपालिमा दुई हजार २८६ घरधुरीमा आशिंक क्षति पुगेको प्रशासनले जनाएको छ ।

भेरी नगरपालिकामा चार हजार २३८, नलगाड नगरपालिकामा चार हजार ४२८ र छेडागाड नगरपालिकामा चार हजार ५४५ घरहरुमा आशिंक क्षति पुगेको छ ।

भूकम्पबाट जाजरकोटमा ज्यान गुमाएका १०१ जना मध्ये ५१ जना बालबालिकाले ज्यान गुमाएका छन् । जिल्ला पशासनका अनुसार २९ बालक र २२ जना बालिका रहेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : ४५ बजे