राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १४ बुँदे सुझाव दिएका छन् । भूकम्प प्रभावित क्षेत्र जाजरकोटबाट फर्किएलगत्तै बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर त्यहाँको वस्तुस्थिति र तत्काल चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका हुन् ।
उनले विपद्का बेला समयमा नपुर्याइको सामानको महत्त्व हुँदैन रहेछ भन्ने सिकाइकासाथ फर्किएको बताउँदै अविलम्ब प्रभावित क्षेत्रमा चाहिएका सामग्री पुर्याउन अनुरोध गरेका छन् ।
उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालहरूको गुणस्तरको पनि प्रश्न उठाएका छन् ।
“अब पठाइने त्रिपालको गुणस्तर परीक्षण गरी मात्रै पठाइयोस् । राहत सामग्रीको आवश्यकता कुन कुन वस्तुको कति मात्रामा हो भन्ने स्पष्ट सन्देश नपुग्दा अनावश्यक र सहज पाइने वस्तुको चाङ लाग्ने देखिन्छ । आवश्यक सामग्रीको कमी हुने देखिन्छ । भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको दुई दिनमै आफ्नो जोहो आफैं गर्न संघर्षरत रहेको पाएँ । यसले जनतालाई राज्यप्रति निराश बनाएको छ । सरकार, जनताको अभिभावक हो भन्ने कुरा स्मरण गराउँदै, आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त कदम चाल्नुहोस्,’ उनले भनेका छन् ।
राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको सभापति लामिछानेले बताएका छन्।

