मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका एकै परिवारका चार जनाको हत्यामा आफ्नै देवर र काका पक्राउ परेका छन् । घट्ना भएको १२ दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनामा संलग्न आरोपमा दुबै आफन्तलाई पक्राउ गरेको हो ।
हत्या आरोपमा मुगु पिना गाउँपालिका ७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरा पक्राउ परेका हुन्।
हत्यापछि भागेका गोर्खराजलाई सीआईबीको टोलीले यही कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशीटोलबाट पक्राउ गरेको हो । उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको प्रहरीको दाबी छ । गोपाललाई गोर्खराज पक्राउ परेको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको हो ।
यही कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ८ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो ।
हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन् । श्रीदेवी गोर्खराजको दिदी-सासूकी छोरी हुन् । गोपाल गाउँकै देवर नाता पर्छन् ।
दसैँमा माइत गएकी श्रीदेवी फर्किएकै दिन कात्तिक ८ गते राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो । लुटपाट गर्ने पूर्वयोजना अनुसार गोर्खराज केही दिन पहिले नै गोपालको घरमा पुगेको पाइएको प्रहरीको भनाइ छ ।
उनीहरूले सुरुमा लुटपाटको योजना बनाएको र पछि परिवार नै सखाप पारेको प्रारम्भिक सोधपुछबाट खुलेको प्रहरी जनाएको छ ।
प्रहरीका अनुसार २०८० जेठमा बाँकेको कोहलपुरबाट गार्खराज शाही ठकुरी मन्दु पुगेर गोपाल बोहोरालाई भेटेका थिए । त्यही भेटमा उनीहरूले श्रीदेवीसँग ७/८ तोला सुन र नगद भएकाले त्यो लुटपाट गर्ने योजना बनाएका थिए । सोही योजनाअनुसार कात्तिक ५ गते गोर्खराज सुर्खेतबाट मुगु पिना गई गोपालबहादुरको घरमा बसेको बताइएको छ ।
कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किन् । त्यही बेलुकी गोर्खराज र गोपालले मिलेर उनीहरूको हत्या गरेको खुलेको प्रहरीको दाबी छ । हत्यापछि उनीहरूले मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ ग्रामको तिलहरी, मृतकका श्रीमान् दीपक र श्रीदेवीको नाममा रहेका एनआईसी बैंकका २ थान चेक, श्रीदेवीको नामको जग्गाको लालपुर्जा, श्रीदेवीको मोबाइल र ५/६ हजार रुपैयाँ लुटेको अनुसन्धानबाट खुलेको छ ।