जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै ३० दिनसम्म सभा, धर्ना, जुलुस गर्न नपाइने निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी निर्णय जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेको हो ।
एमालेको भातृ संगठन युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै कार्यक्रम घोषणा गरेपछि प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको हो । दुवै पक्षले मंसिर ७ मा एक अर्कालाई देखाइदिने भन्दै चर्को रुपमा गाली गलौज गरिरहेका छन् ।
प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।
कार्यालयका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । यसमा कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार देखिए क्षेत्र र समय तोकेर हुलदंगा वा अशान्ति पार्ने उद्देश्यले एकैठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश गर्नसक्ने उल्लेख छ ।
‘माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम हुँदैन’, प्रजिअ बस्नेतले भने, ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनेका छौं ।’
वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।
युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।