१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

अल्टम्यान माइक्रोसफ्टको नयाँ एआइ रिसर्च विभागमा



च्याटजीपीटी निर्माता ओपनएआईले सिइओबाट बर्खास्त गरेको साम अल्टम्यानलाई प्रविधि कम्पनी माइक्रोसफ्टमा जाने भएका छन् । उनलाई शुक्रबार मात्र ओपनएआईको बोर्डले सक्षम भन्दै बर्खास्त गरेको थियो ।

अल्टम्यानसँगै ओपेनएआईका सहसंस्थापक ग्रेग ब्रोक्यानले पनि कम्पनी छोडेको घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय समाचारमा अनुसार अल्टम्यान र ब्रोक्म्यान दुवै माइक्रोसफ्टमा आबद्ध हुने जानकारी प्राप्त भएको छ । माइक्रोसफ्ट विश्वकै ठूलो प्रविधि कम्पनी मध्येको हो । अल्टम्यान नयाँ एड्भान्स एआई रिसर्च समूहमा जोडिने बताइएको छ ।

‘साम अल्टम्यान र ग्रेग ब्रोकम्यानसहित उनीहरूका सहकर्मीहरू माइक्रोसफ्टको नयाँ एड्भान्स एआई रिसर्च टीममा जोडिनेबारे जानकारी दिन पाउँदा हामी निकै हर्षित छौं,’ माइक्रोसफ्टका सिइओ सत्य नडेलाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरूको सफलताका लागि आवश्यक स्रोतसाधन जुटाउन हामी तत्पर छौं ।’

भिडियो गेम स्ट्रिमिङका लागि प्रख्यात ट्वीच कम्पनीका पूर्वसीईओ एवं सह-संस्थापक इम्मेट शियरलाई ओपेनएआईले कार्यवाहक सीईओ तोकेको छ । यही बेला माइक्रोसफ्टले चाहिँ आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी रिसर्चका लागि छुट्टै विभाग गठन गरेको हो । त्यसको नेतृत्त्व अल्टम्यान र ब्रोकम्यानले गर्न लागेका हुन् । अघिल्लो हप्ता मात्रै माइक्रोसफ्टले आफ्नै एआई चीप उत्पादन गर्ने घोषणासमेत गरेको थियो ।

ओपनएआईमै माइक्रोसफ्टको अनुमानित १० अर्ब डलर लगानी छ । ओपनएआईका लागि माइक्रोसफ्ट विशेष क्लाउड साझेदार पनि हो । ओपनएआईले विकास गरेको चर्चित एआई बट च्याटजीपीटी निर्माण र सावर्जनिक गर्न अल्टम्यानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ७ : ३३ बजे