काठमाडौँ जिल्ला अदालत त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैदको फैसला भएको छ । चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।
प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसला छ ।
न्यायाधीश विनोद खतिवडाको इजलासले अभियुक्तहरू रुपेश शाह, रविनकुमार लामा, निरज रानामगर, सयुस भन्ने सयुज श्रेष्ठ, हरि आचार्य र योगेन्द्र रावललाई दोषी ठहर गरी उनीहरूलाई २ वर्ष कैद र २० हजारका दरले जरिवाना हुने फैसला गरेको अदालत प्रशासनले जनाएको छ ।
अभियुक्त दीपकराज ओझाले भने सफाइ पाएका छन्। चलाउनेलाई ०७७ असोज २० गते नेविसंघका नेता कार्यकर्ताहरूले मरणासन्न हुनेगरी सांघातिक आक्रमण गरेका थिए ।
चलाउनेले उनीहरूविरूद्ध दिएको जाहेरीका आधारमा ज्यान मार्ने उद्योगको अभियोगमा मुद्दा चलाइएको थियो । सरकारले यो मुद्दा फैसला नहुँदै फिर्ता लिने निर्णय गरेको थियो। तर, सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयनमा रोक लगाउँदै जिल्ला अदालतलाई फैसला गर्न भनेको थियो ।