२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

इजरायल-हमासबीच दोस्रो पटक बन्दी आदानप्रदान, नेपालका विपिन अझै हमासकै कब्जामा



हमासले प्यालेस्टिनी कैदीहरूको रिहाईको बदलामा शनिबार राति इजरायली र विदेशी बन्धकहरूको दोस्रो समूहलाई रिहा गरेको इजरायली अधिकारीहरूले आइतबार बिहान जानकारी दिएका छन् ।

दोस्रो पटकको बन्दक रिहाइमा हमासले १३ इजरायलीसँगै चार थाई नागरिकलाई रिहा गरेपनि नेपाली बन्धक विपिन जोशीलाई भने रिहा गरेको छैन ।

कतारको पहलमा इजिप्टको पनि सहयोगमा भएको मध्यस्थताले इजरायल र हमासबीचको गरिरोध हट्न सफल भएको बताइएको छ ।

इजरायलका अनुसार शनिबार हमासले १३ जना इजरायली- आठ बालबालिका र पाँच महिलालाई गाजामा रेड क्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेको थियो ।

उनीहरूलाई राफा क्रसिङ पार गरेर इजिप्ट लगिएको थियो । त्यसपछि त्यहाँबाट भने इजरायल लगियो । उनीहरू सबैलाई अस्पतालमा लगिएको इजरायली अधिकारीहरूले बताएका छन् । इजरायलीसँगै चार थाई नागरिक पनि रिहा भएका छन् ।

हमासले बन्धकलाई रिहा गरेको केही समयमा नै इजरायलले पनि ३९ प्यालेस्टिनी बन्दीहरूलाई इजरायलले रिहा गरेको इजरायलको जेलसेवाले आइतबार बिहान जनाएको छ। शुक्रबार पनि यस्तै फेरबदल भएको थियो ।

प्यालेस्टाइनी प्राधिकरणको बन्दी मामिला आयोगले पुष्टि गरे अनुसार इजरायलले छाडेका बन्दीहरू रेडक्रसका बसमा अल-बिरेह लगेर छोडिएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ६ : १५ बजे