प्रमुख प्रतिपक्षी दल एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका-४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् ।
आइतबार ताप्लेजुङमा नेकपा एमालेको कार्यक्रम थियो । कार्यक्रम सकेर पाँचथरतर्फ फर्कने क्रममा भट्टराई सवार गाडी प्रदेश २-०१००१ च ४० नम्बरको गाडीमा पहिचान पक्षधर समूहले ढुंगा प्रहार गरेको ताप्लेजुङ प्रहरी जनाएको छ ।
ढुंगा लागेर भट्टराई सवार गाडीको अगाडिको सीसा फुटेको छ । भट्टराईलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सुरक्षा दिएको थियो । ढुंगा हान्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो भट्टराईको घरअगाडि पनि पहिचान पक्षधरले प्रदर्शन गरेका थिए । प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेको छ । सोही समूहले भट्टराईको गाडीमा ढुंगा प्रहार गरेको हो ।
यसअघि एमाले प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादी नेता इन्द्रबहादुर आङ्वो सवार सवारीमा पनि पहिचान पक्षधर कार्यकर्ताले आक्रमण गरेका थिए ।