१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

मुस्ताङ एक संग्रहालय



ल्हाक्पा गेलु शेर्पा

नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने हिमाली जिल्ला मुस्ताङको आफ्नै पहिचान र महत्व छ । धौलागिरी र निलगिरी हिमाल पार गरेर जानुपर्ने भएकाले यस जिल्लालाई हिमालपारीको जिल्लाको नामले पनि चिनिन्छ । यस जिल्लामा रहेको प्राचीन गुफा, गोन्पा र बस्तीहरूको पुरातात्विक अन्वेषणले यस जिल्लाको ईतिहास हजारौं वर्ष पुरानो भएको पुष्टि हुन्छ । मुस्ताङ परापुर्व कालदेखि नै केहि न केहि विशेषताले चर्चामा आएको पाइन्छ। बौद्ध धर्मको उद्गम स्थान मुस्ताङ हिन्दु धर्मवालम्बीहरुको लागि पनि अति नै पवित्र र महत्वपूर्ण धार्मिकस्थल कर्ण सागर क्षेत्रको नामले प्र्ख्यात थियो । मुक्तिनाथ, दामोदरकुण्ड, कालीगण्डकी र गण्डकीमा पाउने शालिग्रामले हिन्दूहरुको धार्मिक महत्वलाई कायम राखेको देखिन्छ। १५ औ शताब्दीदेखि १७ औं सताब्दीसम्म तिब्बत र भारतलगायतका अन्य देशहरुको बीच हुने अति नै महत्वपूर्ण व्यापारिक केन्द्रको रुपमा मुस्ताङ रहेको देखिन्छ ।

लेखक

सन् १९५० सम्म पनि बिशेषता भारत तिब्बतबीचको ब्यापरिक नाकाको रुपमा यस क्षेत्रलाई प्रयोग गरेको पाईन्छ। सन १३८०मा मुस्ताङको पहिलो राजा अमे पालले मुस्ताङलाई एउटा स्वतन्त्र राज्यको रुपमा स्थापना गरेका थिए । गोर्खाको राजा पृथ्वीनारायण शाहको राज्य बिस्तारको क्रममा १७९५ मा मुस्ताङलाई केही सन्धि सम्झौतामार्फत नेपाल राज्यमै समेल गराएको थिए ।

प्राचीन ऋषि मुनीहरूले तपस्या गरेका स्थानहरु, मानव ओडार ,गुफाहरू र तीसँग सम्बन्धित बिभिन्न तथ्यहरुले मुस्ताङ कुनै समय मानव सभ्यताको उद्गम स्थान र आध्यत्मिक केन्द्रको रुपमा रहेको पुस्टी हुन्छ । सातौं सताब्दीमा दोश्रो बुद्धको रुपमा चिनिने गुरु पद्मसम्भव (गुरु रिन्पोछे)ले निर्माण गर्नु भएको गोन्पा र तपस्या गर्नु भएको स्थान र गुफाहरुले यो क्षेत्र बौद्ध धर्मवालम्बीहरुको उद्गम स्थान हो भनेर सोझै अनुमान लगाउन सकिन्छ । मुस्ताङमा अवस्थित अत्यन्त प्राचीन पुरातत्विक महत्वका गोन्पाहरुको बारेमा यहाँ केही जानकारी दिने प्रयास गरेको छु ।

मुस्ताङको कागबेनीमा सन् १४२९ मा बनाएको कागछोदे थुप्तेन साम्फेल लिङ गोन्पा छ सय वर्ष भन्दा पुरानो ईतिहास रहेको छ। मुक्तिनाथ क्षेत्रभित्र छैटौं शताब्दीमा बनेको नरसिङ गोन्पाको पनि आफ्नै ईतिहास छ । गुरु पद्मसम्भवले तपस्या गर्नु भएको स्याङ्मुचेनस्थित चुङ्सी गुफा गोन्पा र चराङमा रहेको सेद्राङ दोर्जी धेन गुम्बा पनि त्यत्तिकै पुरानो ईतिहास बोकेर बसेको छ । मराङ गाउँमा अवस्थित गुरु पद्मसम्भवले सतौं सतब्दीमा निर्माण गर्नु भएको करीब चौध सय वर्ष पुरानो लो घ्याकर अर्थात घार गुम्बा छ । उक्त गोन्पा नेपालको सबैभन्दा पुरानो गोन्पाको रुपमा आफ्नो ईतिहास बोकेर बसेको छ । गुरु पद्मसम्भवका तिब्बतको सम्य गोन्पा निर्माण गर्नु भन्दा अगाडि नै यो गोन्पा निर्माण गरेको अनुमान गरिएको छ । त्यस्तै यरा गाउँमा अवस्थित १४ औं सताब्दीमा निर्माण भएको लुरी गोन्पाको इन्जिनियरिङ बनावाटले जो कोहीलाई अचम्मित तुल्याउछ ।

अत्यन्त रहस्यमय उपल्लो मुस्ताङमा सयौं, हजारौं वर्ष पुराना विभिन्न बौद्ध गुम्बाहरु रहेका छन । यहाँ करिब दश हजार भन्दा बढी प्राचीन गुफाहरु रहेको अनुमान गरिएको छ । करीब आठ सय साठी वर्ष पुरानो तिरी सन्दुप छोदिङ र पाँच सय वर्ष पुरानो लोवो न्यिफुग नन्द्रोल नोर्बुलिङ गुम्बाको पनि आफ्नै पुरातत्विक ईतिहास छ । गुरु द्रुब्चेन पाल्देन तासीले स्थापना गरेको छ सय वर्ष पुरानो साले तङ्बे फुन्चोक गुम्बा, लामा चोयाङ लुन्डुपले पाँच सय वर्षअगाडि स्थापना गरेको लो गार्फुक कन्यिङ साम्तेन चोलिङ गोन्पा, गराप्जोङको पाँच सय वर्ष पुरानो कुत्सब तेरंगा गोन्पाहरुले पनि सयौं बर्षको इतिहास बोकेर बसेको देखिन्छ ।

लोमन्थाङ पर्खालभित्र लोमन्थाङको पहिलो राजा अमे पलले १३ औ सताब्दीमा स्थापना गरेको छोदे गोन्पा, दोश्रो राजा अङोन साङ्पोले १४ औ सताब्दीमा स्थापना गरेका जाम्पा गोन्पा र तेश्रो राजा टाशी गोनले १५ औं सताब्दीमा स्थापना गरेका थुप्चेन गोन्पाको पनि आ-आफ्नै इतिहास छ ।

सन १९९२ साल पछि मात्र बाह्य पर्यटकको लागि खुल्ला गरिएको मुस्ताङमा आज धेरै उत्खानन बाँकी छ । चीनसँगको कोरोला नाका खोले पछि मुस्ताङको स्वरुपनै परिवर्तन हुने स्थिती छ। कोरोला नाकामा चीन तर्फ बिशाल अध्यगमन भवन, र ठुलो ब्यापारिक केन्द्र र बास्तिनै बासलिसकेको अवस्था छ भने नेपालतर्फ भने कुनै भौतिक संरचना बनाउन सकेको छैन। अहिले नेपालफर्फा रहेको भन्सार र सुरक्षा चेकपोस्ट पिलारभन्दा नौ किलोमिटर तल रहेको छ। कोरोला नाका चीन र नेपालको बिचको ब्यापारिक नाकामात्र नभएर चीनबाट दशिण एसियाली राष्ट्रलाई जोड्ने नाकाको रुपमा समेत बिकास गर्न सकिन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ६ : ५१ बजे