३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

रास्वपाले सामाजिक न्याय, उदार अर्थतन्त्र र बहुलवाद मान्ने



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मुख्य तीन राजनीतिक मान्यताको रुपमा सामाजिक न्याय, उदार अर्थतन्त्र र बहुलवाद लिएको छ ।

महोत्तरीको जलेश्वरमा तीन दिनदेखि जारी केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकमा प्रस्तुत भएर पास गरेको प्रस्तावमा यी तीन विषय समेटिएको हो ।

प्रतिवेदनको प्रस्तावनामा लेखिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टी सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो ।’

‘यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीपूर्ण असल शासनमार्फत् समन्यायिक समावेशी समाज निर्माण गर्नु हो,’ आफ्ना राजनीतिक मान्यताबारे प्रस्तावनामै रास्वपाले प्रस्ट्याएको छ, ‘लोककल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत–साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी–अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारी विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु–पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ।’

अर्थात्, रास्वपाले आफू गणतन्त्रप्रति प्रतिबद्ध रहेको पनि प्रतिवेदनमार्फत् स्पष्ट पारेको छ।

यसअघि रास्वपा नेतृत्वको गणतन्त्रप्रतिको प्रतिबद्धतालाई लिएर विभिन्न कोणबाट बहस भएको थियो । तर, व्यवस्था होइन, अवस्था परिवर्तन गर्ने मूल नारा दिएको रास्वपाले यही व्यवस्थाभित्रैबाट सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न सकिने बताउँदै आएको थियो ।

यद्यपि, उसले प्रदेश संरचनाको आवश्यकता नभएको भनी गत निर्वाचनमा प्रदेश तहमा उम्मेदवारी नै दिएको थिएन । त्यसैले संघीयताप्रति यस दलको दृष्टिकोण अझै स्पष्ट हुन सकेको छैन ।

जलेश्वर बैठकबाट पारित प्रतिवेदनमार्फत् रास्वपाले आफ्नो राजनीतिक मार्गबारे थप भनेको छ, ‘शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रुपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रुपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरुको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ।’

यस्तै धर्मनिरपेक्षता वा सापेक्षताका विषयमा राष्ट्रिय रूपमै विवाद र बहस भइरहेका बेला संसदको चौथो ठूलो शक्तिका रुपमा उदाएको यस नयाँ दलको धारणा के हो भन्ने प्रश्न पनि राजनीतिक टिप्पणीकारहरूले उठाएको पाइन्छ। त्यसबारे प्रतिवेदनमा स्पष्ट पारिएको छैन। तर, सनातन सभ्यता र धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान गर्ने प्रतिवेदनमा उल्लेख छ। प्रस्तावमा लेखिएको छ, ‘

नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरुको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ।’

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ५ : १९ बजे