प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आफ्नो यात्राका क्रममा छुटेका नेपाल एयरलाइन्सका यात्रुहरूको बारेमा दुबइ पुगेपछि मात्रै थाहा भएको स्पष्टीकरण दिएका छन् । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन जाँदा नेपाल बायु सेवा निगमको जहाज सेड्युलभन्दा दुई घण्टा अघि सारिंदा ३१ यात्रु छुटेका थिए ।
यूएईको पाँचदिने भ्रमण सकेर फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यात्रु छुटेको थाहा पाएको भए कुरेरै लैजाने बताए।
‘यदी मलाई २ घन्टा अगाडि सारिँदैछ र त्यसो गर्दा ३१ जना यात्रु छुट्छन भन्ने थाहा भएको भए म दुई घन्टा छिटो ल्याउन दिँदैनथेँ,’ उनले भने, ‘दुई घन्टा अघि ल्याउनपर्ने भन्ने मेरो मनसाय पनि थिएन । मैले क्यानले कसरी मिलायो भन्ने मात्रै बुझेँ ।’
उनले आफूलाई सो बारे यूएई पुगेपछि मात्रै थाहा भएको बताए । ‘मैले उहाँ पुगेपछि मात्रै थाहा भयो कि मेरो कारणले ३१ जना यात्रुहरू छुट्नुभयो । मैले उहाँ साथीहरूलाई पनि त्यही कुरा भनेको थिएँ,’ उनले भने।
सम्मेलनमा सहभागी भएर आइतबार साँझ प्रधानमन्त्री दाहाल स्वदेश फर्किएका छन् । उनले सहभागिता उपलत्धीमूलक भएको दावी गरेका छन् ।