आवश्यक धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी काण्डका आरोपी भुटानी शरणार्थी नेता टेकनाथ रिजाल जेलमै रहेका छन् । उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि उनी छुट्न सकेका छैनन् ।
मंसिर १५ गते अदालतले रिजालसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो । तीमध्ये धरौटी बुझाएर ६ जना छुटिसकेका छन् । उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएका थिए । तर धरौटी बुझाउन नसकेपछि बिहीबारसम्म रिजाल थुनामै छन् ।
कोही आफन्तले धरौटी रकमको जोहो गरिदिए आफू थुनामुक्त हुने उनले बताए पनि अझै जोहो हुन नसकेको बताइएको छ ।
टेकनाथलाई भेट्न उनकी श्रीमती कारागार गइरहन्छिन् । कहिलेकाहीँ आफन्त र साथीहरू पनि जाने गर्छन् । रिजाललाई सुरूमा अन्य अभियुक्तहरूसँगै राखिएको थियो । तर उनले आफू अरू कैदीबन्दीसँग बस्दिनँ भनेपछि बेग्लै ठाउँमा बस्ने व्यवस्था गरिएको छ ।
उनीसँगै थुनामा परेका हरिभक्त महर्जनले १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँले १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले १० लाख, रामशरण केसीले १५ लाख बुझाएर छुटिसकेका छन् ।
साथै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले बुधबार ३० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट थुनामुक्त भए । साधारण तारेखमा रहेका आशिष बुढाथोकी पनि छुटिसकेका छन् ।
कारागारभित्र नेकपा (एमाले) का नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण छन् । खाणका विषयमा न्यायाधीशहरूबीच राय बाझिएको थियो । पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा पनि थुनामै छन् ।
सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई भने ललितपुरको नख्खुस्थित कारागारमा सरूवा गरिएको छ । जिल्ला अदालत काठमाडौंले धरौटी मागेका लक्ष्मी महर्जन, टंक गुरूङ र केशव तुलाधरलाई उच्च अदालतले साधारण तारेखमा राखेको छ ।