४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

रुसी सेनामा दुई सय नेपाली रहेको प्रधानमन्त्रीको भनाई, थप एक जना युक्रेनको कब्जामा



प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा भर्ती हुने नेपालीहरूको संख्या दुई सय रहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी कार्य भइरहेको बताए । उनले रुसी सेना बनेका नेपालीहरू कोही युक्रेनको कब्जामा रहेको र केही नेपाली युक्रेनी सेनामा रहेको पनि औपचारिक जानकारी आएको बताए ।

यस्तै उनले हमास आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि बताए ।

‘चाहे रुस युक्रेनको युद्ध होस् हामीले बडो नयाँ फेनामेनाको सामना गर्नुपरेको छ । रुसी सेनामा पनि नेपाली युवाहरू गएर कोही पढ्न गएका कोही भिजिट भिसामा गएका कोही केमा गएका सेनामा भर्ती भएर ६ जना मरेको त औपचारिक ढंगले जानकारी आयो । अब २ सय भन्दा बढी छन् भन्नेछ, त्यसको खोजी, अध्ययन भइरहेको छ । त्यो परिस्थिति सामना गर्नुपरेको छ । कोही रुसी सेनामा जाँदा युक्रेनी सेनाको कब्जामा छन् । युक्रेनी सेनामा पनि नेपाली छन्, त्यसको तथ्यांक हामी खोज्दैछौँ । विगतमा यस्तो देख्न व्यहोर्न पर्दैन थियो । अहिले परिरहेको छ । इजरायल र हमासमा १० जना नेपालीको ज्यान गयो १ जना बेपत्ता छन्, उनलाई फिर्ता ल्याउने अन्तिम प्रक्रियातिर बढिरहेका छौँ’ उनले भने ।

थप एक नेपाली रुसी सैनिक युक्रेनको नियन्त्रणमा

रुसी सेनामा गएका थप एक नेपाली युक्रेनी सेनाको कब्जामा परेका छन् । दाङ बिजौरीका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा परेका बताइएको छ । कब्जापछि युक्रेनी सेनाले पुनको भिडियो सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भएपछि युद्ध गर्न गएर समातिएका पुन तेस्रा नेपाली हुन् । यसअघि रुसी सेनामा गएका काभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्रीलाई रुस–युक्रेन युद्धस्थलबाट युक्रेनी सेनाले नियन्त्रणमा लिएको थियो ।

पुनले आफू रुसमा पढ्न आएको र त्यसको केही समयपछि त्यहाँका एजेन्ट ‘दाई’हरूको सल्लाहमा रुसी सेनामा भर्ती भएको उल्लेख गरेका छन् । ‘म यहाँ विद्यार्थी भिसामा आएको हुँ । म मस्कोमा दुई/तीन महिना बसें । त्यसपछि एजेन्ट दाईहरूले आर्मीमा लगाउनु भयो । हामीलाई सम्झौता (कन्ट्याक्ट) पेपरको बारेमा थाहा थिएन,’ पुनले भिडियोमा भनेका छन्, ‘हामीलाई युद्धमा के भइरहेको छ, थाहा थिएन । मैले ती दाईकै कुरा सुनेर आर्मीमा भर्ना भएँ ।’

पुनले केही महिनाको प्रशिक्षणपछि फिल्डमा पठाएको र अहिले आफू युक्रेनमा रहेको प्रष्ट्याएका छन् । ‘म सबै नेपाली जनतालाई रुसमा नआउनको लागि अनुरोध गर्दछु । यो युद्धमा संलग्न हुनको लागि नआउनुहोस् । तपाईं पैसाको लागि आउन सक्नुहुन्छ । तर त्यो नै सबैथोक होइन,’ उनले भनेका छन्, ‘तपाईं नेपालमा बस्नु भयो भने राम्रो हुन्छ । एजेन्टले नेपाली जनतालाई युद्ध केही समयमा रोकिन्छ र पैसा लिएर फर्किन पाइन्छ भन्छन् । तर त्यो होइन, तर युद्ध सकिएको छैन, यहाँ एकदम गाह्रो छ ।’

युक्रेनी सेनाले यसअघि मन्डनदेउपुर–६, काभ्रेका २२ वर्षीय सिद्धार्थ ढकाललाई नियन्त्रणमा लिएको थियो । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको थियो। युक्रेनी सेनाले असोज २७ मा पहिलो पटक बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  ५ : ३० बजे