४ असार २०८१, सोमबार | Mon Jun 17 2024

मंसिर २८ गतेबाट रास्वपाको महाधिवेशन प्रक्रिया सुरू



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर २८ गते वडा तहको अधिबेशन गरेर महाधिवेशन प्रक्रिया सुरू गर्ने भएको छ । मंसिर २८ गते सातै प्रदेशका एक–एक वडामा अधिवेशन हुने छ भने त्यसका लागि पार्टीले केन्द्रीय प्रतिनिधिसमेत तोकेको छ ।

केन्द्रीय सदस्य विजय जैरुको उपस्थितिमा इटहरी उपमहानगरपालिका वडा नम्बर २० को अधिवेशनमा हुनेछन् । त्यस्तै सहमहामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा मधेस प्रदेशको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा अधिवेशन सम्पन्न हुनेछ ।

महामन्त्री मुकुल ढकाल बागमती प्रदेशको भरतपुर महानगरपालिका–११ को वडा अधिवेशनमा खटिने छन् भने संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार गण्डकी प्रदेशको पोखरा महानगरपालिकाको वडा नम्बर १० को अधिवेशनमा सहभागी हुनेछन् ।

त्यस्तै कोषाध्यक्ष नीला अधिकारी बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को अधिवेशनमा सहभागी हुनेछिन् भने संगठन विभागका सचिव शंकर श्रेष्ठ सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ६ को अधिवेशनमा सहभागी हुनेछन् ।

सहमहामन्त्री विपिन आचार्य कैलालीको टीकापुर नगरपालिकाको वडा अधिवेशनमा सहभागी हुनेछन् ।

वडा तहबाट अधिवेशन थाले लगत्तै पालिका, जिल्ला र प्रदेश तहका कमिटीको अधिवेशन गरेर केन्द्रमा महाधिवेशन गरिने बताइएको छ । वडा तहका कमिटीको अधिवेशन महाधिवेशनको प्रक्रियाअन्तर्गत नै हुने छ ।

रास्वपाले यसअघि वडा तहमा तदर्थ समिति बनाएको थियो । अहिले नयाँ प्रक्रियाद्वारा अधिवेशन गर्न लागिएको उपसभापति पौडेलले बताए । रास्वपाले मनोनीतसहित ११ सदस्यीय वडा समिति गठन गर्ने छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ५ : १८ बजे