१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

थमन विक हत्याकाण्डमा एमाले सांसद कोईरीलाई सफाइ



नेकपा एमालेका निलम्बित सांसद लक्ष्मी महतो कोइरीले कर्तव्य ज्यानसम्बन्धी मुद्दाबाट सफाइ पाएका छन्। मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या अभियोग लागेका कोइरीलाई जिल्ला अदालत महोत्तरीले सफाइ दिएको हो ।कोइरीसँगै अर्का अभियुक्त पवन कापरले पनि सफाइ पाएका छन्।

सशस्त्र प्रहरीका असई थमन विकको हत्यासम्बन्धी यस मुद्दामा सांसद कोइरीसहित २८ जना अभियुक्त थिए।

तीमध्ये ७ जना अभियुक्तलाई भने कर्तव्य ज्यान मुद्दामा जन्मकैद र आगो लगाएको कसुरमा थप ६ महिना कैद कैद सजाय हुने भएको छ । जन्मकैदको सजाय पाउनेमा सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, शंकर शाही भन्ने रामशंकर मिश्र, अभिराम शर्मा, सुरेश पाण्डे र धर्मेन्द्र राय छन् ।

अभिराम शर्मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको तर्फबाट महोत्तरी ३(१) बाट निर्वाचित मधेस प्रदेशका सांसद हुन् । रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्। उनीहरूबाट १० लाख रूपैयाँ क्षतिपूर्ति पनि भराउने फैसला भएको छ।
१९ जना फरार प्रतिवादीका हकमा मुद्दा मुल्तबीमा राखिएको छ। उनीहरू पक्राउ परे वा सम्पर्कमा आएमा मुद्दा ब्युँतिनेछ।

मधेश आन्दोलनका क्रममा २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको जलेश्वरमा एम्बुलेन्सबाट निकालेर हत्या गरिएको थियो।

मधेश आन्दोलनका क्रममा घाइते भएका विकलाई उपचारका लागि जलेश्वरबाट जनकपुर अस्पताल लैजाँदै गर्दा एम्बुलेन्सबाट झारेर धान खेतमा कुटिकुटी हत्या गरिएको थियो।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ९ : ३४ बजे