१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

डिसेम्बर २३ तमु ल्होछार/ल्होसार आयोजना गरिने



द गुरुङ (तमु) सोसाइटी इंक, यु.एस.ए. ले, यही डिसेम्बर २३, २०२३ शनिबारका दिन तमु ल्होछार/ल्होसार आयोजना गर्ने भएको छ । गुरुङहरुको कला, भाषा, संस्कार, संस्कृति, भेषभुषा र परम्परालाई संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले गुरुङहरुको नयाँ बर्ष तमु ल्होछार मुप्री ल्हो (गरुड वर्ग) मनाउन लागेको द गुरुङ (तमु) सोसाइटी इंकले जनाएको छ ।

गुरुङको परम्परागत वर्ग चक्र प्रणाली अनुसार हि ल्हो (बिरालो वर्ग) को विदाई र म्हुप्री ल्हो ( गरुड वर्ग) को स्वागत गर्दै गुरुङ्ग जातिको महान पर्व तमु ल्होछार न्यूयोर्कको टिबेटेन कम्युनिटी हलमा मनाउन लागको हो ।

तमु ल्होछार गुरुङहरुको महान चाड तथा नयाँ बर्ष हो, गुरुङहरुको भाषा, संस्कार, संस्कृति, भेषभुषा र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ल्होछार पर्वले मद्धत गर्ने आयोजककोे विश्वास छ ।

तमु ल्होछारमा गुरुङहरुको संस्कृति झल्कने विभिन्न सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्न लागेको ल्होछार कार्यक्रम संयोजक तथा कोषाध्यक्ष अञ्जित गुरुङले जानकारी दिए ।
सोसाइटीका अध्यक्ष ओम बहादुर गुरुङले संस्थालाई अझ बलियो बनाउन र तमु ल्होछार २०२३ सफल बनाउनको लागि पूर्व अध्यक्षहरु, कार्यसमितिका पूर्व पदाधिकारीहरु, पूर्व सल्लाहकारहरु, आजीवन सदस्य तथा साधारण सदस्यहरु सबैको महत्वपूर्ण भूमिका रहने भएकोले सबैलाई आर्थिक सहयोग गरी दिन अनुरोध गरेको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । साथै कार्यक्रममा गुरुङ समुदायका परम्परागत खानेकुरा खाने, ल्होछरको शुभकामना आदान प्रदान गर्दै ल्होछार मनाउने प्रचलन छ । ल्होछारमा न्यूयोर्क, न्युजर्सी, कनेक्टिकट तथा न्यूह्याम्प्सायर, मेरिल्याण्ड राज्यबाट समेत गुरुङहरु सहभागी हुने सोसाइटीले जनाएको छ । तमु ल्होछार मनाउनका लागि तमु तथा गैर तमु नेपालीहरुलाई उपस्थित भई कार्यक्रम सफल पार्नको लागि सोसाइटीले न्यूयोर्क, न्यूजर्सी तगायतका नेपालीहरुलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ११ : २० बजे