१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

काठमाडौंका ६ क्षेत्रमा थप २ महिना प्रदर्शन गर्न निषेध



काठमाडौंका ६ क्षेत्रमा थप २ महिना प्रदर्शन गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार आदेश जारी गर्दै शितल निवास (राष्ट्रपति कार्यालय), प्रधानमन्त्री निवास बालुवाटार, संसद् भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति कार्यालय र माइतीघर मण्डला आसपासको क्षेत्रमा पुस ४ देखि बढीमा दुई महिनाका लागि ५ जनाभन्दा बढी मानिस भेला भएर जुलुस, प्रदर्शन, भेला, धर्ना, सभाजस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरेको हो ।

‘जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिस समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम देहायको क्षेत्रमा २०८०।०९।०४ देखि बढीमा २ (दुई) महिनासम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा बुधबार जारी आदेशमा उल्लेख छ ।

यसअघि मंसिर ४ गतेदेखि १ महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेनिकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान’ ले मंसिर ७ मा एकै दिन विभिन्न माग राखी छुट्टाछुट्टै विरोध कार्यक्रम आह्वान गरेपछि काठमाडौं प्रशासनले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा भेला, जुलुस, प्रदर्शनलगायत गतिविधि गर्न रोक लगाएको थियो ।



प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ३१ बजे