५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

सर्वोच्चका ६ न्यायाधीश नियुक्त



सर्वोच्च अदालतमा ६ नयाँ न्यायाधीश नियक्त गरिएका छन् । उनीहरुले बिहीबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नवनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपतिको उपस्थितिमा शीतलनिवासमा आयोजित एक समारोहबीच शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो । संसदीय सुनुवाइ समितिले बुधबार उनीहरूको नाम अनुमोदन गरी राष्ट्रपति कार्यालयमा पठाएको थियो । राष्ट्रपति कार्यालयले बुधबार नै उनीहरूलाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्त गरेको सूचना जारी गरेको थियो ।

न्यायपरिषद्‍को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो । न्यायपरिषद्ले मंसिर ५ गते ६ जना न्यायाधीशको नाम सिफारिस गरी संसदीय अनुमोदनका लागि पठाएको थियो ।

सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् । सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ । सर्वोच्चमा २१ न्यायाधीशको दरबन्दी छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ५ : २६ बजे