काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डिआई) राख्न नपाउने भएको छ भने चाड पर्वको नाममा विद्यार्थीलाई नयाँ पोशाक किन्न लगाए कारवाही गर्ने भएको छ ।
शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् भनेका छन् ।
उनले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको सूचना पाएकोले नराख्न निर्देशन दिइएको उल्लेख गरेका छन् । डिआईले शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो आएको उल्लेख गरेको छ ।
यस्तै, विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरपालिकाले सूचनामार्फत् आह्वान गरेको छ ।
त्यसैगरी महानगरले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ । विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।
शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन् । परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।