१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

११ प्रकारका उद्योग र पाँच करोडसम्मका ऋणको कर्जा पुनर्संरचना गर्न निर्देशन



नेपाल राष्ट्र बैंकले ११ प्रकारको उद्योगीको कर्जा र ५ करोडसम्मका ऋणीहरुको कर्जामा पुनर्संरचना तथा पुनर्तालिकीकरणका लागि बैंकहरुलाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा पुनर्तालिकीकरण र कर्जाको पुनर्संरचना गर्ने व्यवस्था गरे अनुसार नै आइतबार बैंकहरुलाई निर्देशन दिइएको हो ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई निर्देशन जारी गर्दै शर्तहरु लागू गरेर पुनर्तालिकीकरण र पुनर्संरचना गर्न भनिएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका ऋणीहरुको हकमा ११ प्रकारका कर्जाहरुमा उक्त सुविधा दिन सक्नेछन् ।

राष्ट्र बैंकले कृषि र वन, माछापालन, खानी, कृषि, वन र पेयपदार्थ उत्पादन (सुर्ती प्रशोधन र मदिराजन्य बाहेक), गैरखाद्य वस्तु उत्पादन, धातुका उत्पादनहरु, मेसिनरी तथा इलेक्ट्रोनिक औजार तथा जडान, यातायात, भण्डार र सञ्चार, थोक तथा खुद्रा विक्री, पर्यटन, शिक्षा एवं स्वास्थ्य, निर्माण (सिमेन्ट, डण्डी, इँट्टा/ब्लक, पाइप्स एण्ड फिटिङ्गस लगायतका उद्योगमा प्रवाहित कर्जा समेत) क्षेत्रसँग सम्बन्धित कर्जा र अन्य सबै क्षेत्रमा प्रवाह भएका ५ करोडसम्मका कर्जालाई ऋणीको अनुरोधमा उक्त सुविधा दिन सकिने जनाएको छ ।

उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न शर्त राखिएको छ ।

यस्तो पुनर्तालिकीकरण र/वा पुनर्संरचना २०८० चैत मसान्तभित्र गरिसक्नुपर्नेछ । त्यस्तै २०८० असार मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण र/वा पुनर्संरचना गर्न सकिनेछ ।

उपर्युक्तबमोजिम पुनर्तालिकीकरण र/वा पुनर्संरचना गरिएका कर्जाहरुमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ। यसरी पुनर्तालिकीकरण र/वा पुनर्संरचना गरिएको कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ सोही वर्गमा वर्गीकरण गर्नुपर्ने शर्तहरु राखिएको हो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ५१ बजे