४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

सुरुङमार्ग निर्माणका लागि सिद्धार्थ राजमार्ग बन्द हुने



सुरुङमार्ग निर्माण गर्न सिद्धार्थ राजमार्ग यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । सिद्धबाबा क्षेत्रमा सुरूङमार्ग निर्माणका लागि सडक बन्द गर्न लागिएको हो ।

सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएका कारण राजमार्गको सिद्धबाबा खण्ड पुस १६ गतेबाट सय दिन बन्द हुनेछ ।

सडक राति १० देखि बिहान ४ बजेसम्म बन्द हुनेछ भने अत्यावश्यक सवारी साधनलाई कुनै रोक नलगाइने प्रशासनले जनाएको छ । सुरुङ निर्माणमा संलग्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यातायात संचालन गरी काम गर्दा जोखिम हुने भएकाले रातिको समयमा सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क र पाल्पा तर्फको माथिल्लो सिद्धबाबा क्षेत्रमा डाइभर्सन निर्माण भइरहेकाले सय दिनसम्म सडक बन्द हुने बताइएको छ । आकस्मिक रुपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास जान सकिन्छ ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का पाएर एक वर्षअघिदेखि काम सुरु गरेको छ । सुरुङमार्गको दूरी दोभानदेखि सिद्धबाबासम्म १ हजार १ सय २६ मिटरको रहनेछ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ५ : ४० बजे