११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

ईपीएस परीक्षामा सहभागी हुन पाउनु पर्ने आन्दोलनमा दुई जनाको मृत्यु



ईपीएस परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै शुक्रबार भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागी दुई जनाको मृत्यु भएको छ भने ७३ जना पक्राउ परेका छन् । मारिनेमा अछामको चौरपाटी गाउँपालिका १ बस्ने वर्ष २१ को वीरेन्द्र शाह र भागदौडका क्रममा दैलेखको महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ को सुजन राउतका छन् ।
ललितपुर महानगरपालिका–८ बालकुमारीस्थित ईपीएस कार्यालय अगाडि आन्दोलनरत परीक्षार्थीहरुले आक्रोशित भइ डिउटीमा खटिएका प्रहरीमाथि एक्कासी ढुंगा मुढा प्रहार गर्दा प्रहरी नायव उपरीक्षक उमेश लम्साल, प्रहरी सहायक हवल्दार शुसिल सुवेदी, प्रहरी जवान निर्माणबाबु सेजुवाल तथा सशस्त्र प्रहरी तर्फका ४ जना सुरक्षाकर्मी घाइते भएका प्रहरीको दाबी छ।

प्रहरीले भिड तितरबितर गर्न अश्रु ग्यास प्रहार गरेपछि आक्रोशित भिडले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला चढेको बा२ झ ५८६१ नम्बरको गाडी रोकी टायरको हावा फुस्काई आगजनी गरेका थिए।
भिडलाई सम्झाई बुझाई गर्दा नमानेपछि टिअर ग्यास, रबरको गोली प्रहार गर्दा पनि भिड तितरबितर नभएपछि बल प्रयोग (गोली प्रहार) गरेको प्रहरीको भनाई छ। घट्नाको छानबिन गर्न समिति बनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक वासु सिग्देल रहेको छानबिन समिति गठन गरेको हो।

समितिलाई ७ दिनभित्रमा घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउन भनिएको गृह मन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले नेपालखबरलाई जानकारी दिए।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीले औधोगिक क्षेत्रका लागि आवेदन दिन नपाउने भएपछि आन्दोलन गरेका हुन्।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १० : १४ बजे